Breaking News.... EverestOnlineKhabar
June 26, 2026

विश्वराज पोखरेल काठमाडौ प्रहरी प्रमुख, यसकारण हटाइयो धानुकलाई

Loading

काठमाडौ,माघ ।
एसएसपी रविन्द्र धानुकलाई काठमाडौँ प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएर पोखरेललाई जिम्मेवारी दिइएको हो। प्रहरी प्रधान कार्यालयले पोखरेललाई महानगरीय प्रहरी परिसर काठमाडौँमा सरुवा गरेको छ । उनी आजदेखि परिसरमा हाजिर हुँदैछन्। पोखरेल यसअघि महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) मा थिए।  धानुक गएको साउन ३१ गते २५ जना एसपीबाट एसएसपीमा बढुवा हुँदा ७६.४६६० अंकसहित बढुवा सुचीमा पूछारमा परेका थिए । तर काठमाडौँ जस्तो महत्वपूर्ण ठाउँको प्रमुख बन्ने दौडमा भने उनी सबैभन्दा अगाडि हुन सफल भए ।
प्रायः एसएसपीहरु काठमाडौं प्रहरी प्रमुख हुन लालायित हुन्छन्। तर सबैले यो अवसर भने पाउँदैनन्। काठमाडौँ जिल्लाकै प्रमुख भएर रमेश खरेल र सर्वेन्द्र खनाल लगायतले नाम कमाएका छन्। एसएसपी धानुकले पनि गएको भदौ ७ गते यो अवसर पाए। तर उनले आफ्नो कार्यकालमा केही पनि स्मरणीय काम गर्न सकेनन्।
महानगरीय प्रहरी परिसर प्रमुखको पदमा कसलाई ल्याउने भन्नेबारे आइजी र गृहमन्त्रीबीच विवादका कारण लामो समयदेखि पदस्थापन हुन नसकेको पृष्ठभूमिमा तत्कालीन गृहमन्त्री जनार्दन शर्मा कै इच्छा अनुसार धानुकले यो जिम्मेवारी पाएका थिए। रुकुमको प्रहरी प्रमुख हुँदा एसएसपी धानुक र शर्मासँग नजिकिएका थिए।
धानुक प्रधानमन्त्री शेरबहादुर देउवाका समेत विश्वास पात्र थिए । तर पाँच महिनामै हाल गृहमन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्रीको दबाबमा उनलाई हटाउनुको कारण भने पूर्वडिआइजी नवराज सिलवाल बनेका छन् । सांसद निर्वाचित भइसकेका सिलवाल यतिखेर सम्पर्कविहीन छन्। प्रहरीले उनलाई खोजिरहेको छ, तर फेला पार्न सकेको छैन। सिलवाललाई जानकारी दिने, कीर्ते मुद्दा चलाउन आनाकानी गर्ने जस्ता गतिविधिपछि देउवा र उनको दूरी बढेको स्रोत बताउँछ। धानुकलाई बाग्लुङमा सरुवा गरिएको पत्र दिइएको छ। आफु सरुवामा पर्ने थाहा पाएपछि धानुक भने १० दिनको विदामा बसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.