![]()
काठमाडौ,माघ ।
विश्व क्रिकेट लिग डिभिजन टू मा नेपालले आइतबार युएईसँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो १ः३० बजेपछि नामिबियाको विण्डहकमा रहेको युनाइटेड मैदानमा सुरु हुनेछ । अघिल्ला दुई मध्ये एक खेल मात्र जितेको नेपाललाई प्रतियोगिताका शिर्ष २ मा रहन आइतबारको खेल जित्नुपर्ने दवाव छ । युएईले पनि २ मध्ये एक खेल हारेकाले आइतबारको खेलमा जित महत्वपूर्ण छ । यो खेलमा पराजित हुने टोलीका लागि प्रतियोगिताको शिर्ष २ मा रहँदै विश्वकप छनोट खेल्ने सपना पूरा गर्न कठिन हुनेछ ।
नेपालले यसअघि नामिबियालाई १ विकेटले हराएको थियो भने ओमानसँग ६ विकेटले पराजित भएको थियो । युएईले यसअघि केन्यालाई २ सय १८ रनले हराएको थियो भने क्यानडासँग २३ रनले पराजित भएको थियो । रन औसतका आधारमा युएई नेपालभन्दा अघि अर्थात अंक तालिकाको दोस्रो स्थानमा छ । डिभिजन वान बाट टू मा घटुवा भएको नेपाल प्रतियोगिताको शिर्ष २ मा रहँदै विश्वकप छनोट खेल्न युएई पुगेको थियो । तर प्रतियोगिताका सुुरुका २ खेलमा त्यसअनुसारको प्रदर्शन भने गर्न सकेको छैन ।
बलिङमा राम्रो प्रदर्शन गरे पनि ब्याटिङमा नेपालको प्रदर्शन कमजोर देखिएको छ । पहिलो खेलमा ९ विकेट गुमाएर अन्तिम ओभरमा १ सय ३९ रन बनाएको नेपालले दोस्रो खेलमा पनि १ सय ३९ रन मात्र बनाउन सक्यो । नयाँ खेलाडीको बाहुल्यता रहेको टिममा अनुभवी खेलाडीले पनि सोचेजस्तो प्रदर्शन गर्न सकेका छैनन् ।


