![]()
काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपतिको प्रस्ताव आए आफू त्यसका लागि तयार रहेको बताउनु भएको छ ।
इरानमा आयोजित आईक्यापको २९ औं बैठकमा भाग लिएर मंगलबार स्वदेश फर्किनु भएका नेता खनालले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै पार्टीले दिने कुनैपनि जिम्मेवारी निर्वाह गर्न आफू तयार रहेको बताउनु भएको हो ।
नेता खनालले एउटै व्यक्तिलाई राष्ट्रपति लगायत राज्यका महत्वपूर्ण निकायमा दोहर्याउन उचित नहुने धारणा राख्नुभयो । राष्ट्रपति बिद्या भण्डारीलाई पुनः राष्ट्रपतिमा दोहर्याउने चर्चा चलिरहेकाबेला नेता खनालको यस्तो प्रतिक्रिया आएको हो ।
वरिष्ठ नेता खनालले माओवादी केन्द्रसँगको पार्टी एकता प्रक्रियामा महत्वपूर्ण प्रगती भैरहेकाले छिट्टै निष्कर्षमा पुग्ने दावी गर्नुभयो । पार्टी एकताका लागि विचार र संगठनात्मक समस्या समाधानको प्रयास भैरहेको उहाँले बताउनुभयो ।
भारतीय विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणका सम्बन्धमा सोधिएको प्रश्नमा भने खनालले आफूलाई थाहा नभएको भन्दै चासो दिनुभएन ।


