![]()
काठमाडौं । नेपाली कांग्रेसका केही युवा नेताहरु सडकमा बिचित्र शैलीमा प्रस्तुत हुन थालेका छन । अरु भए केही थिएन लोकप्रिय युवा नेता भनेर चिनिने धनराज गुरुङ, चन्द्र भण्डारी लगायतका नेताहरु सडकको छेउमा बसेर जुत्ता पालिस गर्न थालेपछि आश्चार्य भएको हो ।
कृष्णप्रसाद भट्टराई प्रतिष्ठानद्वारा आयोजित राजनीतिक शुद्धिकरण (जुत्ता पालिस) कार्यक्रममा उनीहरु धमाधम जुत्ता पालिस गर्न थालेका हुन । नेताहरु धनराज गुरुङ, चन्द्र भण्डारी, विनोद भट्टराई र पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले कार्यक्रममा उपस्थितहरुको जुत्ता पालिस गरे ।
जुत्ता पालिस गराउनेमा मानवअधिकारवादी, कांग्रेस कार्यकर्ता, राजनीतिक व्यक्तित्वदेखि वरपरका अन्य व्यक्ति पनि सामेल थिए । जुत्ता पालिस गरि सफा गर्नुलाई राजनीतिक विसंगतिको सफाइका रुपमा बुझ्न नेताहरुले आग्रह गरेका थिए ।
पालिस गराउने दुई दर्जन बढि व्यक्तिहरुबाट झन्डै ३१ हजार रुपैयाँ उठेको थियो । कांग्रेस नेताहरुले शुद्धीकरणको अभियान भनेपनि धेरैले यसलाई ‘नौटङ्की’ को संज्ञा दिएका छन ।


