![]()
बिबिसि । अमेरिकी अधिकारीहरूले ‘अति जोखिमपूर्ण’ भनिएका ११ वटा देशका शरणार्थीमाथिको प्रतिबन्ध हटाइएको बताएका छन् । तर, अमेरिका प्रवेश गर्न चाहनेहरूले अब नयाँ सुरक्षा व्यवस्थाको सामना गर्नुपर्ने उनीहरुको भनाइ छ ।
आन्तरिक सुरक्षा मामिलासम्बन्धी मन्त्री क्रिस्चन निल्सनले शरणार्थीको मान्यता दिनुअघि सुरक्षा जोखिमको जाँच गरिने बताइन् । ट्रम्प प्रशासनले सन् २०१७ को अक्टोबरमा १० वटा मुस्लिम बहुल देश र उत्तर कोरियाबाट शरणार्थी स्वीकार नगर्ने बताएको थियो।
वाशिङ्टनमा एउटा सार्वजनिक कार्यक्रममा मन्त्री निल्सनले भनिन, “अमेरिका कसले प्रवेश गर्न लागेको हो त्यो हामीले थाहा पाउनु महत्त्वपूर्ण कुरा हो।“
“यी अतिरिक्त सुरक्षा व्यवस्थाले खराब तत्वलाई हाम्रो शरणार्थी कार्यक्रमको दुरूपयोग गर्न गाह्रो हुनेछ र त्यसले जोखिमका आधारमा हामीले अवलम्बन गर्ने नीतिले देशको सुरक्षा सुनिश्चित गर्नेछ।“
हुन त शरणार्थी लिन रोक लगाइएका देशको नाम अहिलेसम्म औपचारिक रूपमा उल्लेख गरिएको छैन तर शरणार्थीसम्बन्धी समूहहरूका अनुसार इजिप्ट, इरान, लिबिया, माली, उत्तर कोरिया, सोमालिया, दक्षिणी सुडान, सिरिया र यमनले प्रतिबन्धको असर झेलेका छन्।
विगत तीन वर्षयता अमेरिका प्रवेश गर्नेमध्ये ४० प्रतिशतभन्दा बढी शरणार्थी ती ११ मुलुकबाटै आएको बताइन्छ।
गत अक्टोबरमा ट्रम्प प्रशासनको प्रतिबन्ध कार्यान्वयनमा आएपछि आर्थिक वर्ष २०१८ मा शरणार्थीहरूको संख्या आधाले घटेर ४५ हजार पुगेको छ। अक्टोबरयता ती ११ देशबाट २३ जना शरणार्थी मात्रै अमेरिका पुगेका छन्।


