![]()
विकिलिक्सले अमेरिकाको केन्द्रिय गुप्तचर संस्था सिआइएले अनधिकृत रुपमा सूचनामा पहुँच पुर्याउने उपायहरु खुलासा गर्ने भनिएका हजारौं गोप्य कागजातहरु प्रकाशित गरेको छ।
स्वतन्त्र रुपमा पुष्टि भइनसकेका ती कागजातले स्मार्ट फोन र कम्प्युटरहरुबाट व्यक्तिगत विवरणहरुमा पहुँच पुर्याउन प्रयोग गरिएको मालवेयर भनिने सफ्टवेयरको विवरण दिन्छ। सिआइएका प्रवक्ताले उक्त कागजातमा उल्लेखित सामग्री र त्यसको आधिकारिकताबारे प्रतिक्रिया नजनाउने बताएका छन्।
सिआइएका प्रवक्ताले पनि त्यसको विवरणबारे पुष्टि गरेका छैनन्। आफूहरुले कुनै कागजातको आधिकारिकता वा विवरणबारे प्रतिक्रिया जनाउने नगरेको बताए।विकिलिक्सले भने आफ्नो स्रोतले सिआइएले आफूलाई प्राप्त ह्याकिङ अधिकार नाघेको त होइन भन्नेबारे बहस गर्न विवरणहरु उपलब्ध गराएको बताएको छ।
बीबीसीका सुरक्षा संवाददाता गोर्डन कोरेराले उच्च संवेदनशील प्राविधिक उपायका विवरणहरु दिने यी पछिल्ला सूचना सिआइएका लागि ठूलो समस्या हुनसक्ने देखिएको बताएका छन्। जुन संस्थाको काम अरु मानिसको गोपनियता चोर्ने हो उसैले आफ्नो गोपनीयता जोगाउन सकेन भन्ने पक्ष निकै लाजमर्दो भएको उनले बताए।


