![]()
एजेन्सी,पुस ।
इंग्लिस प्रिमियर लिग फुटबलमा साबिकको बिजेता चेल्सीले फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा स्टोक सिटीलाई ५–० ले पराजित गर्दै चेल्सीले फराकिलो जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन एन्टोनियो रुडीगर,ड्यानी ड्रिकवाटर,पेड्रो रोड्रिगेज,विलियन र डाविड जापाकोष्टाले समान एक एक गोल गरे । स्टोकविरुद्ध एकतर्फी जित निकाल्ने क्रममा चेल्सीले पहिलो हाफमा ३ तथा दोस्रो हाफमा दुई गोल गरेको थियो ।
स्टामफोर्ड ब्रिजमा रुडीगरले तेस्रो मिनेटमा गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको नवौ मिनेटमा ड्रिकवाटरले चेल्सीको अग्रता दोब्बर बनाए । खेलको २३ औं मिनेटमा पेड्रोले गोल गरेपछि पहिलो हाफमा चेल्सी ३ – ० ले अघि रह्यो ।
पहिलो हाफमा ३ – ० ले अघि रहेको चेल्सीले दोस्रो हाफमा पनि गोललाई निरन्तरता दियो । खेलको ७३ औं मिनेटमा पाएको पेनाल्टीमा विलियनले गोल गर्दै चेल्सीलाई ४ – ० को अग्रता दिलाए । त्यसपछि खेलको ८८ औं मिनेटमा जापाकोष्टाले गोल गर्दै चेल्सीलाई ५ – ० को फराकिलो जित दिलाए ।
यो जितसँगै चेल्सीले २१ खेलबाट ४५ अंक जोडेको छ । र, चेल्सीले म्यानचेस्टर युनाइटेडलाई पछि पार्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । पराजित स्टोक २० अंक जोडेर लिगको चौधौ स्थानमा छ । लिगको शिर्ष स्थानमा म्यानचेस्टर सिटी र तेस्रो स्थानमा म्यानचेस्टर युनाइटेड रहेको छ ।


