![]()
काठमाडौ,पुस ।
चुनाव लगत्तै पार्टी एकिकरण गर्ने घोषणा गरेपनि एमाले र माओवादी केन्द्रबीच पार्टी एकिकरणको प्रक्रिया अगाडी बढ्न सकेको छैन् । यसबीच पार्टी एकिकरण हुनेमा आशंका बढ्दै गएको छ । यति मात्र नभई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पदको बाँडफाँटका विषयमा विवाद देखिएको छ । दुई शीर्ष नेताबीच देखिएको चिसोपना अन्त्यका लागि युवा नेताहरुले दबाब अभियान सुरु गरेका छन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रका दोस्रो र तेस्रो तहका नेताहरुले दुवै नेताको मौनताले गम्भीर कुराको संकेत गरेको भन्दै वार्तामा बस्न र एकता प्रक्रियाबाट तलमाथि हुन नदिन सक्रियता बढाएका हुन् । नेकपा माओवादीका तर्फका जनार्दन शर्मा, देवेन्द्र पौडेल र नेकपा एमालेका नेताहरु ठाकुर गैरे लगायतका नेताहरु सक्रिय भएका छन् । माओवादी केन्द्रका नेताहरूले पनि पार्टीभित्रका केही असन्तुष्ट नेताका कारण एमालेसँगको पार्टी एकता प्रकृया नरोकिने बताएका छन् । असन्तुष्ट नेताहरुको मागलाई सम्बोधन गर्दै पार्टी एकता हुने उनीहरूको भनाइ छ ।
माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पार्टीभित्रका असन्तुष्ट नेताहरुका कारण जनताले अनुमोदन गरिसकेको एमाले र माओवादीबीचको पार्टी एकता नरोकिने स्पष्ट पारे । अर्का नेता मणि थापाले पनि पार्टीभित्रका असन्तुष्ट नेताहरुका कारण पार्टी एकताबाट माओवादी केन्द्र पछि हट्न नसक्ने बताए ।
एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच खटपट भएमात्र पार्टी एकता नहुने उनको भनाइ छ ।
माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले पनि अब पार्टी एकता कसैले चाहेर पनि नरोकिने बताइन् । तर दुवै नेताबीचको वार्ता प्रक्रिया रोकिएपछि गम्भीर खटपटको संकेत देखिएको नेताहरुले बताएका छन् । सहमतिका बेला नै सरकारको नेतृत्व एउटाले र पार्टीको नेतृत्व अर्कोले गर्ने सहमति भएको भए पनि अहिले नेकपा एमालेका नेताहरुले दुवै पद आफूहरुले नै राख्ने भनेपछि दाहाल असन्तुष्ट देखिएको माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।


