![]()
काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अबको पाँच दश बर्षमा मुलुकको कायापलट हुने दाबी गर्नुभएको छ । हालै सम्पन्न महानिर्वाचनमार्फत जनताले बामगठबन्धनको हातमा मुलुकको जिम्मेवारी सुम्पिएकाले स्थिर राजनीतिसंगै विकास र समृद्धि प्राप्त हुने बिश्वास उहाँले व्यक्त गर्नुभयो ।
काठमाडौंमा डल्लु आवास स्थानीय समितिले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा सम्बोधन गर्दै नेता खनालले भन्नुभयो, ‘ नेपालमा बामपन्थी शक्तिले पहिलो पटक बहुमत प्राप्त गरेको छ । यो देशमा अब हामी स्थिरता दिन्छौं । ६ महिनामा सरकार बदलिने, ९ महिनामा सरकार बदलिने, एक बर्षमा सरकार बदलिने, जुन घटनाक्रमबाट नेपाल राष्ट्र पीडित थियो, त्यो पीडाबाट अब राष्ट्र मुक्त भएको छ । अब हामी राष्ट्रको अग्रगतितर्फ अगाडि बढ्छौं ।’
बिगतमा थुप्रै आन्दोलन र हिंसाका तीता घटना बेहोर्नु परेपनि अब आन्दोलनको युग सकिएको र नवनिर्माणको युग प्रारम्भ भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ हाम्रो देशको इतिहासमा युद्धहरु भए, जनयुद्ध भए, संघर्ष भए, क्रान्तिहरु भए, आन्दोलनहरु भए, अब त्यो आन्दोलनको युग सकियो, अब हामी नवनिर्माणको युगतर्फ गएका छौं । अब हामी विकास र निर्माणलाई केन्द्रबिन्दु मानेर अघि बढछौं ।’
नेता खनालले अब बन्ने बाम सरकारले सिंगो राष्ट्रको बिकासलाई प्रमुखतकासाथ अघि बढाउने दाबी गर्दै भन्नुभयो, पूर्वाधार होस, या कृषी होस, औद्यगिकरणको विकास होस या शहर नगरपालिकाहरुको विकास होस, ग्रामीण क्षेत्रको विकास होस, सिंगो पहाड, मधेश, तराई र हिमालको विकास होस, सिंगो मुलुकलाई समन्नती र समृद्धितर्फ लैजाने थालनी अब सुरु हुँदैछ ।’

महानिर्वाचनले महत्वपूर्ण मार्गदर्शन समेत गरेको बताउँदै नेता खनालले नयाँ सरकारले जनतासामु कबुल गरे बमोजिम नयाँ नीति, कार्यक्रम र योजना तर्जुमा गरी सिंगो राष्ट्रलाई अग्रगतितर्फ लैजाने बिश्वास दिलाउनुभयो । अबको पाँच दश बर्षमा नेपाली समाजको कायपलट गर्ने आँट, दृष्टिकोण, नीति, कार्यक्रम र क्षमतासमेत आफूहरुसंग भएकाले कुनै दुविधा नपाली ढुक्क भएर बस्न उहाँले आग्रह गर्नुभयो ।
अब संविधान संशोधन हुँदैन
पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेता खनालले महानिर्वाचनमार्फत संविधान कार्यान्वयन भएको तर्क गर्दै भन्नुभयो, ‘यो संविधान तुरुन्तै संशोधन हुने हो कि, कुनै ठाउँमा प्वाल पर्ने हो कि, यसम अंकित गरिएका हक अधिकार खोसिने हुन कि, यो डर थियो, अब त्यो डर समाप्त भयो । यो संविधानलाई अब प्रतिनिधिशभामा दुइ तिहाइ बहुमत नपुगेसम्म अब कसैले संशोधन गर्न सक्दैन । यो उपलब्धी हो । ’
कार्यक्रममा नेता खनालसहित अष्टलक्ष्मी शाक्य, जीवनराम श्रेष्ठ र राजेश शाक्यलाई डल्लु आवास स्थानीय समितिले सम्मान गरेको थियो ।


