![]()
काठमाडौ,मंसिर ।
वाम गठबन्धनका प्रमुख नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई नयाँ प्रधानमन्त्रीको उम्मेदवार प्रस्ताव गरेका छन्। ठूलो दलको हैसियतमा ओली नै स्वाभाविक उम्मेदवार भएको प्रचण्डले बताउँदै आएका छन्। ओली र प्रचण्ड वाम गठबन्धनका प्रमुख नेता हुन्। नयाँ सरकार गठन, पार्टी एकतालगायतका समग्र विषयमा पार्टी एकता संयोजन समितिमा छलफल गरेर मात्रै अन्तिम टुंगोमा पुग्ने दुवै दलको तयारी छ। समितिमा दुवै दलका शीर्ष नेताहरू पनि रहेकाले त्यहाँ निर्णय गरेर दुवै पार्टीले आन्तरिक छलफल गर्ने सम्भावना रहेको एक नेताले बताए।तर, दुई नेताबीच को प्रधानमन्त्रीको उम्मेदवार बन्नेबारे कुनै सहमति नभएको ती नेताले स्पष्ट पारे।
‘गठबन्धनको एउटा प्रमुख नेताले उहाँ (ओली)लाई नै प्रधानमन्त्रीका रूपमा संकेत गर्नुभएको छ । तर, एमालेले औपचारिक निर्णय गरिनसकेकाले को प्रधानमन्त्रीको उम्मेदवार भनेर औपचारिक रूपमा सार्वजनिक गर्ने वेला भइसकेको छैन ।’ एमाले प्रवक्ता विष्णु रिमालले भने।
माओवादी नेताहरूले पार्टी एकता र सरकार सँगसँगै प्याकेजमा लैजानुपर्ने बताएका छन् । पार्टी एकता गर्ने विषय जनताबाट समेत अनुमोदित भइसकेकाले सरकार र एकता प्याकेजमा अगाडि बढाउनुपर्ने सो पार्टीका नेताहरूको भनाइ छ । माओवादी सचिवालय सदस्य अग्निप्रसाद सापकोटाले पार्टी एकता संयोजन समितिमा छलफल गरी एउटा विधि प्रक्रिया बनाएपछि सरकार एकता प्याकेजको रूपमा एकैपटक अगाडि बढ्ने बताए ।


