![]()
काठमाडौ,मंसिर ।
वाम गठवन्धनको पक्षमा उत्साहजनक चुनावी परिणाम आएपछि एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार औपचारिक भेटवार्ता हुँदैछ। अनौपचारिक रूपमा दुई नेताबीच टेलिफोन वार्तामा चुनावी परिणामको सामान्य समीक्षा भए पनि प्रत्यक्ष भेटवार्ता नै भएर कुराकानी भने भएको छैन। दोस्रो चरण (२१ मंसिर) मा सम्पन्न चुनावअगाडि १७ मंसिरमा यी दुई नेताबीच छलफल भएको थियो। त्यसयता ओली–दाहाल भेट भएको छैन। ओलीले चुनाव परिणामपछि बुधबार दाहालसँग छलफलका लागि आग्रह गरेका थिए। तर, दाहालले आफू मतदाताबीच व्यस्त रहनुपर्ने कारण खुलाएपछि ओली–दाहालबीच बुधबार भेट हुन पाएन। दाहाल बिहीबार मध्याह्न मात्र काठमाडौं आइपुग्नेछन्। भरतपुर महानगरपालिका वडा नम्बर ६, ८ र ९ का मतदातासँग बिहानै भेटेर मध्याह्नसम्म काठमाडौं आउने गरी दाहालले कार्यक्रम बनाएका छन्।
दाहाल काठमाडौं आएसँगै ओलीसँग हुने भेटवार्तामा नयाँ सरकार र पार्टी एकतालगायत विषयमा छलफल हुने माओवादी केन्द्रका सचिवालय सदस्य नारायण दाहालले बताए।
दुई नेताबीच अबको सरकारको नेतृत्वका विषयमा मोटामोटी छलफल चलिसकेको छ। निर्वाचन परिणाममा एमाले ठूलो दल बनेपछि एमाले अध्यक्ष ओलीले नै नयाँ सरकारको नेतृत्व गर्ने अनौपचारिक समझदारी भइसकेको छ। तर, त्यसको औपचारिक निर्णय नभएका कारण मात्र ओलीको नाम प्रस्तावका रुपमा आउन भने सकिरहेको छैन।
एमाले सचिव प्रदीप ज्ञवालीले सरकार ओलीको नेतृत्वमा बन्नेमा दुई पार्टीमा विमति नभएको बताए। संविधानको धारा ७६ ले प्रतिनिधिसभातर्फको सम्पूर्ण नतिजा सार्वजनिक भएको ३० दिनभित्र राष्ट्रपतिले बहुमत प्राप्त दल वा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाका सदस्यलाई नयाँ प्रधानमन्त्री चयन गर्न सक्ने प्रावधान संविधानमा रहेका कारण पनि नयाँ सरकार गठनको गृहकार्यमा नेता जुट्न थालेका हुन्।
आयोगले प्रत्यक्ष तर्फको सम्पूर्ण परिणाम सार्वजनिक गरेर समानुपातिक तर्फको पनि अन्तिम गणनाको काम अहिले गरिरहेको छ। यस हिसाबले पनि अबको सात–दश दिनभित्रै सम्पूर्ण परिणाम आउने देखिन्छ। जसकारण यी दुई पार्टीले चुनावलगत्तै गर्ने भनेको पार्टी एकता भने सरकार गठन पछि नै धकेलिने निश्चितप्राय देखिएको छ।
एमाले अहिले तत्काल नयाँ सरकार गठन गरिहाल्ने पक्षमा बढी केन्द्रित हुन चाहेको देखिन्छ भने माओवादीले एकता प्रक्रियाको सम्पूर्ण कार्ययोजना तयार पारेर सरकारको प्रक्रियामा जान चाहेको देखिन्छ। माओवादी अध्यक्ष दाहालको चाहना अहिले त्यस्तो देखिन्छ। अध्यक्ष दाहालले १७ असोजमा एमाले–माओवादीबीच भएको समझदारीका आधारमा अब पार्टी एकता प्रक्रिया अगाडि बढाउन चाहेका छन्।
पार्टी एकता प्रक्रिया र सरकार गठनको काम एकैपकट टुंगो लगाउने गरी दाहालले सोचिरहेका छन्। त्यसको खुलासा उनले गृहजिल्ला चितवनमै पत्रकारसँग पनि गरिसकेका थिए।


