Breaking News.... EverestOnlineKhabar
June 24, 2026

मुख्यमन्त्री बन्न पार्टीभित्र दौडधुप सुरु, यी हुन् सम्भावित अनुहार

Loading

काठमाडौ,मंसिर ।
निर्वाचन परिणाम नआउँदै सात प्रदेशका भावी मुख्यमन्त्री को हुन् भनेर चर्चा–परिचर्चा सुरू भइसकेको छ । प्रदेशसभामा प्रत्यक्षतर्फका ३३० सिटमध्ये ३१६ को गणना सकिएको छ र वाम गठबन्धनले हालसम्म करिब ७४ प्रतिशत जित हासिल गरेको छ । ३१६ मध्ये हालसम्म २३२ स्थानमा जित पक्का गरिसकेका छन् ।
प्रदेश १ मा भीम आचार्य कि शेरधन ?
मतपरिणाम सार्वजनिक भएमध्ये सर्वाधिक चासोको क्षेत्र हो– प्रदेश १ । एमाले, माओवादी केन्द्रले मुख्यमन्त्रीमा आ–आफ्नै दाबी प्रस्तुत गरेका छन् । तथापि एमालेकै दाबी बलियो देखिएको छ । १४ जिल्ला समेटिएर बनेको प्रदेश १ मा ५६ सिट छ । जसमा एमाले एक्लैले ३६ स्थानमा जित हासिल गरेको छ । माओवादी केन्द्रले १० स्थान जितेको छ । प्रत्यक्षतर्फका २८ सिटमा एमालेले १६ स्थान जितेको छ । त्यस्तै, माओवादी केन्द्रले ६, कांग्रेसले ४ स्थान र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ स्थान जितेको छ । त्यहाँ २ हेभिवेट प्रदेशसभा सदस्यका लागि उमेदवार बनेका थिए र दुवैले जित हासिल गरेका छन् ।
पूर्वसूचना तथा सञ्चारमन्त्री शेरधन राई भोजपुर– (क) बाट उमेदवार बनेका थिए । उनी २० हजार ३३४ मत प्राप्त गरी निर्वाचित भएका छन् । प्रदेश १ मा एमालेका दुवै गुटले आफ्नो दाबी प्रस्तुत गरिरहेका छन् । शेरधन राई अध्यक्ष केपी ओली गुटका हुन् भने माधव नेपाल गुटबाट भीम आचार्यले मुख्यमन्त्रीको दाबी गरेका छन् । सुनसरी– १ (क) बाट २० हजार २११ मत ल्याएर निर्वाचित भएका आचार्य पनि मुख्यमन्त्रीको दाबेदार हुन् ।
प्रदेश–२ मा राजपा कि फोरम ?
हालसम्मको नतिजा हेर्दा प्रदेश नम्बर २ मा गैरमधेसवादी दलको सरकार बन्ने सम्भावना सकिएको छ । २ नम्बर प्रदेशमा पर्सादेखि सप्तरीसम्म ८ जिल्ला छन् र प्रदेश सभातर्फ ६४ सिट रहेको छ । जसमा राजपा–संघीय समाजवादी फोरम गठबन्धनले ३२ सिट ल्याएका छन् । र, समानुपातिकतर्फ पनि मधेसवादी गठबन्धनले अग्रता लिएकाले सरकार बनाउन समस्या देखिँदैन । तर, २ नम्बर प्रदेशमा मुख्यमन्त्रीका लागि राजपा र फोरम दुवैले दाबी गरेका छन् । २ नम्बर प्रदेशको मुख्यमन्त्रीमा संघीय समाजवादी फोरम, नेपालका उपाध्यक्ष लालबाबु राउत र राष्ट्रिय जनता पार्टीका महासचिव मनीषकुमार सुमनको चर्चा छ । तथापि नामका विषयमा कुनै छलफल नभएको सुमनले जानकारी दिए । राउत पर्सा– १ (ख) बाट ९ हजार ८०४ मत ल्याएर निर्वाचित भएका हुन् भने सुमन सप्तरी– २ (ख)बाट ८ हजार ९३८ मत ल्याएर निर्वाचित भएका हुन् ।
तीन नम्बर प्रदेशका प्रत्यक्षतर्फका ६६ सिटमध्ये एमाले एक्लैले ४१ सिटमा विजय हासिल गरेको छ । त्यस्तै माओवादी केन्द्रले १४ र कांग्रेसले जम्मा ७ स्थानमा जित दर्ता गरेको छ । यसरी हेर्दा एमाले–माओवादी केन्द्र गठबन्धनको ५४ सिट पुग्छ । सरकार बनाउन आवश्यक संख्या पुग्नेमात्रै होइन, दुई तिहाइ नै हुन्छ । तर, मुख्यमन्त्री टुंग्याउन गठबन्धनलाई सहज छैन । एमालेका आधा दर्जन आकांक्षी छन् । र, सबैले चुनाव जितेका छन् । एमालेका आकांक्षीमध्ये सशक्त दावेदार हुन् पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य । उनले काठमाडौं– ८ (ख) बाट ५ हजार १६९ मत ल्याएर निर्वाचित भएकी छन् । त्यस्तै अर्का दाबेदार हुन्– पोलिट्ब्युरो सदस्य राजेन्द्र पाण्डे । उनी धादिङ– १(क) बाट २७ हजार २३२ मत ल्याएर निर्वाचित भए । अर्का पोलिटव्युरो सदस्य पशुपति चौलागाईं दोलखा– (ख) बाट २० हजार ५८ मत ल्याएर निर्वाचित भए । उनी पनि मुख्यमन्त्रीकै दाबेदार हुन् ।
३६ सिट रहेको ४ नम्बर प्रदेशमा वाम गठबन्धन नै अगाडि रहेको छ । हालसम्म प्रदेश ४ मा एमालेले १५ स्थान जितेको छ भने २ मा अग्रता कायम गरेको छ । गठबन्धनकै अर्को घटक माओवादी केन्द्रले ८ स्थान जितेको छ । कांग्रेसले ५ स्थानमात्रै जित्न सकेको छ ।
एमालेबाट मुख्यमन्त्रीका लागि पृथ्वी सुब्बा गुरूङ र किरण गुरूङको नाम चर्चामा छ । दुवै पार्टी स्थायी कमिटी सदस्य हुन् । निर्वाचनअघि नै किरण गुरूङले मुख्यमन्त्री बन्नकै लागि आफू प्रदेशमा उम्मेद्वार बनेका थिए ।
प्रत्यक्षतर्फ ५६ सिट रहेको प्रदेश पाँचमा एमाले एक्लैले २८ सिट जितेको छ । त्यस्तै, वाम गठबन्धनको अर्को घटक माओवादी केन्द्रले १२ सिट जितेर २ मा अग्रता कायम राखेको छ ।कांग्रेसले पाँच नम्बर प्रदेशमा ७ सिटमात्रै जितेको छ । पाँच नम्बर प्रदेशको मुख्यमन्त्रीमा एमालेबाट पार्टी स्थायी कमिटी सदस्य शंकर पोखरेल एकल प्रतिस्पर्धी छन् ।
प्रदेश ६ को प्रत्यक्षतर्फको २४ सिटमा एमालेले १४ सिटमा विजय हासिल गरेर पहिलो बनेको छ । त्यस्तै, माओवादी केन्द्रले ९ स्थान जित्दा कांग्रेसले एकस्थान जीवनबहादुर शाहीमात्रै निर्वाचित भए । प्रदेश ६ मा एमालेका पोलिटब्युरो सदस्य प्रकाश ज्वाला पनि दावेदार छन् । प्रदेश ६ मा माओवादी केन्द्रको पनि दाबी छ । प्रदेश– ६ माओवादीले पाउँदा बलियो दाबेदार हुन्– पूर्व ऊर्जामन्त्री महेन्द्रबहादुर शाही ।
प्रत्यक्षतर्फ ३२ सिट रहेको प्रदेश ७ मा वामपन्थी नै अग्रस्थानमा छ । एमालेले १७ र माओवादीले १० स्थान जितेका छन् भने कांग्रेसले ४ स्थानमात्रै जित्न सकेको छ ।
सात नम्बर प्रदेशमा अन्य प्रदेशको तुलना प्रत्यक्षतर्फ विजयी भएकामध्ये हेभिवेट नभएकाले व्यक्तिका बारेमा चर्चा छैन । मुख्यमन्त्री कसले लिने भनेर एमाले–माओवादी भित्र चर्चापरिचर्चा सुरू भइसकेको छ । एमाले पोलिटव्युरो सदस्य एवम् पूर्व उद्योगमन्त्री कर्णबहादुर थापाको नाम चर्चामा छ । बाजुराबाट ०७०मा निर्वाचित सांसदसमेत रहेका उनको नाम भने समानुपातिकको सूचीमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed