Breaking News.... EverestOnlineKhabar
June 25, 2026

Loading

काठमाडौ,मंसिर ।
समानुपातिक निर्वाचन प्रणालीबाट विगतका दुइटा संविधानसभामा २२ हजार वा २५ हजार मत ल्याएका दलले प्रतिनिधित्व पाएजस्तै यस पटक त्यस्ता दलले अवसर पाउने छैनन्। अब बन्ने प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल सदर मतको न्यूनतम ३ प्रतिशत मत ल्याउने राजनीतिक दलले मात्रै समानुपातिक सिटबाट प्रतिनिधित्व पाउने छन्। विगतमा थोरै मत ल्याएर पनि समानुपातिकबाट एक सिट पाएर संविधानसभामा प्रतिनिधित्व गर्ने दल आधा दर्जनभन्दा बढी थिए। तर यस पटक समानुपातिकमा सिट पाउने दलले न्यूनतम ३ लाख वरिपरि मत ल्याउनुपर्ने छ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा देशैभर १ करोड ५ लाख ८७ हजार ५ सय २१ जनाले मतदान गरेका छन्। उक्त तथ्यांक मतदान केन्द्रहरूबाट आएको प्रारम्भिक विवरणबाट तयार पारिएकाले त्यसमा केही थपघट हुन सक्छ। आयोगले ४ देखि ५ प्रतिशत मत बदर हुने अनुमान गरेको छ। निर्वाचन कानुनले समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि ३ र प्रदेशसभाका लागि १.५ प्रतिशत मतको थ्रेसहोल्ड तोकेको छ।
प्रतिनिधिसभा निर्वाचन ऐनको दफा ६०(११) र प्रदेशसभा निर्वाचन ऐनको दफा ६०(९) मा त्यससम्बन्धी प्रावधान उल्लेख छ। समानुपातिकतर्फका निर्वाचन अधिकृतसमेत रहेका निर्वाचन आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्यालले प्रतिनिधिसभाको हकमा ३ र प्रदेशसभाको हकमा डेढ प्रतिशतभन्दा कम मत ल्याउने दलले सम्बन्धित सभामा समानुपातिक प्रणालीबाट प्रतिनिधित्व नपाउने बताए।
उनले भनेः‘दलहरूले पाएको थ्रेसहोल्ड माथिको मतको योगफल निकाली प्राविधिकहरूको सहयोगमा सिट वितरण हुनेछ।’ अहिलेसम्मको गणनाले प्रत्यक्षतर्फ २.५ प्रतिशत हाराहारीमा मत बदर भएको देखिएको उनले बताए। समानुपातिकतर्फ बदर प्रतिशत केही बढ्न सक्ने उनले उल्लेख गरे। समानुपातिकतर्फ एउटै पानामा प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र हुनु, ८८ दलको चिह्न मतपत्रमा छापिनु, तर ४९ दलले मात्रै निर्वाचनमा भाग लिनुले मतपत्र लामो भएको छ। गठबन्धन गरेका दलहरूले समेत मतदातालाई राम्ररी बुझाउन नसक्दा समानुपातिकमा बदर बढी हुने अनुमान छ।
प्रत्यक्ष र समानुपातिक दुवैतर्फको गणना सकिसकेको डडेलधुराका मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद रिजालले समानुपातिकतर्फ बदर मत बढी पाइएको बताए। रसुवाका मुख्य निर्वाचन अधिकृत पुनाराम खनालको अनुभवमा पनि समानुपातिकको मतदान गर्ने बेलामा मतदाता बढी अल्मलिएका छन्। उनले बदर मत हेर्दा प्रतिनिधिसभाको खण्डमै दुईवटा चिह्न लगाइएको बढी भेटिएको बताए। रसुवामा प्रत्यक्षतर्फ ३ प्रतिशत हाराहारीमा मत हुँदा समानुपातिकमा त्यो ५ प्रतिशत पुगेको छ।
सचिव पौड्यालले जिल्ला–जिल्लाबाट विवरण नआएसम्म सदर वा बदर मतको विवरण भन्न नसकिने बताए। आयोगले मंसिर २९ गतेभित्र सबै जिल्लाबाट समानुपातिकको मत परिणाम आइसक्ने अपेक्षा राखेको छ।
समानुपातिकतर्फको प्रतिनिधिसभा हेर्ने सहायक निर्वाचन अधिकृत आयोगका सहसचिव सुशील कोइरालाले मत परिणामअनुसार दलले पाउने सिट संख्या र त्यसको कलस्टर छुट्याएर दलहरूलाई जानकारी दिइने छ। दलले आयोगले तोकिदिएको कलस्टरअनुसार बन्दसूचीमा बुझाएको प्राथमिकता क्रमअनुसारको नाम बुझाउनुपर्ने हुन्छ। प्रतिनिधिसभा निर्वाचन नियमावलीको नियम ४१(३) ले दलले नाम छनोट गर्दा माथिल्लो क्रममा भएको उम्मेदवारको नाम छनोट नगरी तल्लो क्रममा भएको नाम छनोट गर्न नपाइने व्यवस्था गरेको छ।
समानुपातिकतर्फ प्रतिनिधिसभामा १ सय १० सिट छ। सामान्य रूपमा ३ प्रतिशतमाथि मत पाएका सबै दलहरूको मतको योगफलमा १ सय १० सिटले भाग गर्दा आउने मत नै एक सिटको मत हुनेछ। समानुपातिकतर्फबाट यस पटक संसद्मा प्रतिनिधित्व गर्ने दलको संख्या ३ देखि ५ भित्र रहने अनुमान गरिएको छ। कानुनअनुसार प्रत्यक्षतर्फबाट एक सिट जितेको र समानुपातिकमा ३ प्रतिशत मत ल्याएको दलले मात्रै संसद्मा राष्ट्रिय दलको मान्यता पाउने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed