![]()
काठमाडौ,मंसिर ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना अन्तिम चरण तर्फ पुग्नै लाग्दा वाम गठबन्धनले प्रत्यक्ष तर्फ दुई तिहाइ सीटमा जीत हासिल गरेको छ। हाल सम्मको परिणाम अनुसार दोस्रो संविधानसभा निर्वाचनमा पहिलो बनेको नेपाली कांग्रेसले प्रत्यक्षतर्फ २० भन्दा केही बढी स्थानमा मात्रै चित्त बुझाउनु परेको छ।
दलका प्रतिनिधिहरुबाट मतगणनामा अवरोध नभएमा मंगलबारसम्म प्रत्यक्ष तर्फको सम्पूर्ण परिणाम सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ। समानुपातिक निर्वाचनको मतगणना भने अझै केही दिन सम्म चल्ने बताइएको छ। निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले भनेः‘समानुपातिकको पनि गणना जारी रहेको छ। यो महिनाको अन्तिमसम्ममा सबै नतिजा सार्वजनिक गरिसक्छौं, तर त्यसका लागी दलहरुको सहयोग अनिवार्य छ ।’
निर्वाचनको मुखैमा राजनीतिक स्थिरता र विकासलाई मुख्य एजेण्डा बनाएर गठबन्धन गरेका नेकपा एमाले र माओवादी केन्द्रले प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको निर्वाचनमा कतिपयको शब्दमा उत्साहजनक नतिजा ल्याएका छन्।
प्रत्यक्षतर्फ रहेको कूल १६५ मध्ये हाल सम्म १५५ निर्वाचन क्षेत्रको घोषणा भइसकेको छ। जसमध्ये नेकपा एमालेले ७६ सीट र माओवादी केन्द्रले ३४ सीटमा गरी गठबन्धनको सीट संख्या ११० पुगेको छ, जुन प्रत्यक्षतर्फको दुई तिहाइ हो।
मतगणना बाँकी रहेका क्षेत्र मध्ये एमालेका ५ र माओवादी केन्द्रका २ उम्मेदवार अग्रस्थानमा रहेको निर्वाचन आयोगको विवरणमा उल्लेख गरिएको छ।
समग्रमा २७५ जना सांसद संख्या रहने प्रतिनिधिसभामा वाम गठबन्धनलाई दुई तिहाइ पुराउन भने कठिन हुने देखिएको छ।
समानुपातिकतर्फ झन्डै १८ लाख मतगणना हुँदा एमाले र कांग्रेस लगभग बराबरीकै अवस्था रहेका छन्। माओवादी केन्द्रले प्रमुख दुई दलको तुलनामा आधा जति मत पाएको छ।


