![]()
एजेन्सी,मंसिर ।
रियल मड्रिडका पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोले यो बर्षको बालोन डी’ओर अवार्ड जितेका छन् । बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीलाई पछि पार्दै रोनाल्डोले पाँचौ पटक बालोन डी’ओर अवार्ड जितेका हुन् । रोनाल्डोले फ्रान्स फुटबल म्यागजिनले प्रदान गर्ने बालोन डी’ओर अवार्ड लगातार दोस्रो पटक जितेका हुन् ।
बिहीबार राति पेरिसमा भएको कार्यक्रमका बीच रोनाल्डोलाई विजेता घोषित गरिएको थियो । अवार्ड ट्रफी बोकेर बसेका रोनाल्डोलाई एक विशेष भिडियोबाट सार्वजनिक गरिएको थियो । विश्वका १७३ जना खेल पत्रकारहरुको मतको आधारमा रोनाल्डोले यो अवार्ड पाएका हुन् । भोटिङमा मेस्सी दोस्रो र पेरिस सेन्ट जर्मेनका नेयमार तेस्रो भए ।
लगातार दोस्रो बर्ष यो अवार्ड जितपछि रोनाल्डोले आफ्नो करियरको लागि यो उपाधि महत्वपूर्ण रहने बताए । ३२ बर्षे उनले भनेः‘यो अवाड जित्दा म एकदमै खुशी छु । यो त्यस्तो चिज हो, जुन म प्रत्येक वर्ष जित्न चाहन्छु । म रियल मड्रिडका सम्पूर्ण साथीहरुलाई धन्यवाद दिन चाहन्छु । यो मेरो करिअरको लागि निकै ठुलो अवसर हो ।’
योसँगै रोनाल्डोले यो अवार्डमा मेस्सीसँग बराबर गरेका छन् । यो अवार्ड मेस्सीले पनि ५ पटक नै जितेका छन् । गत सिजन रियल मड्रिडले ला लिगा र च्याम्पियन्स लिगको उपाधि जित्दा रोनाल्डोले महत्वपूर्ण भूमिका खेलेका थिए ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफासँग सहकार्य गरेर प्रदान गरिदै आएको बालोन डी’ओर गत बर्षबाट भने म्यागजिन आफैले प्रदान गर्दै आएको छ । यस्तै फिफाले पनि छुट्टै बर्ष खेलाडी अवार्ड दिँदै आएको छ । यो बर्ष फिफाले दिने बर्ष खेलाडीको अवार्ड पनि रोनाल्डोले जितिसकेका छन् ।


