![]()
काठमाडौ,मंसिर ।
आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले आज युनाइटेड अरब इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र युएईबीचको खेल शेख जायद क्रिकेट रंगशालामा नेपाली समयअनुसार ११ बजेर १५ मिनेटमा खेल सुरु हुनेछ । च्याम्पियनसिपको सातौं चरणको पहिलो खेलमा युएईसँग हार ब्यहोरेको नेपाल अन्तिम खेलमा भने जित हात पार्ने रणनीतिको साथमा मैदानमा उत्रिँदैछ । युएईविरुद्धको पहिलो खेलमा नेपाल ७ विकेटले पराजित भएको थियो । कप्तान पारस खड्काको कप्तानीमा मैदान उत्रने नेपाली टिममा आज एक नयाँ खेलाडीले डेब्यु गर्दै छन् । नेपाली टोलीमा यु – १९ टोलीका खेलाडी अनिल कुमार साह मैदान उत्रने छन् । नियमित सदस्य दिपेन्द्रसिंह ऐरी घाइते भएपछि वैकल्पिक खेलाडीको रुपमा युएई गएका अनिलले टोलीमा स्थान बनाएको हो । दिपेन्द्र अभ्यासको दौरान घाइते भएका हुन् ।
च्याम्पियनसिपबाट विश्वकप छनोटमा पुग्न र डिभिजन २ मा घटुवा भएको दुवै टोलीका लागि यो खेल प्रतिष्ठाको रुपमा मात्र रहने छ । यस्तै यो खेललाई आगमी फेब्रुअरीमा नामिवियामा हुने आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ प्रतियोगिताको तयारीको रुपमा लिइएको छ ।
नामिवियामा हुने डिभिजन २ मा नेपालसहित युएई, नामिबिया, केन्या, ओमन र क्यानाडाले प्रतिस्पर्धा गर्ने छन् । डिभिजन २ मा शीर्ष दुईमा रहने टिम विश्वकप छनोटमा प्रवेश गर्नेछन् । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट नेदरल्याण्ड, स्कटल्याण्ड, पपुवा न्युगिनी र हङकङ भने विश्वकप छनोटमा प्रवेश गरिसकेका छन् ।


