![]()
एजेन्सी,मंसिर ।
फ्रान्सको क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले च्याम्पियन्स लिग फुटबलमा फराकिलो जित निकालेको छ । च्याम्पियन्स लिगको अन्तिम १६ मा यसअघि नै स्थान बनाईसकेको पिएसजीले बुधबार राति सेल्टिकलाई ७ – १ ले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा पिएसजीलाई जित दिलाउन नेयमार र एडिनसन काभानीले समान दुई दुई गोल गरे । यस्तै केलियन एमबाप्पे , मार्को भेराट्टी र ड्यानियल अल्भेसले समान एक एक गोल गरे । सेल्टिकका लागि मौसा डेम्बेलेले एक गोल फर्काए । पिएसजीको यो जित च्याम्पियन्स लिगमा अहिलेसम्मकै फराकिलो जित हो ।
यो जितसँगै समूह बि को पिएसजीले ५ खेलबाट १५ अंक जोडेको छ । र, समूहको पिएसजी शीर्ष स्थानमा छ । यो समूहको दोस्रो स्थानमा जर्मन क्लब वायर्न म्यूनिख रहेका छन् ।
वायर्नले १२ अंक जोडेको छ । यो समूहबाट ३ अंक जोडेको सेल्टिक र अंकबिहिन एण्डरलेक्ट समूह चरणबाटै बाहिरिएको छ । च्याम्पियन्स लिगको नकआउट चरणमा यसअघि नै पुगिसकेको वायर्नले बुधबार राति बेल्जियमको एण्डरलेक्टलाई २ – १ ले पराजित गरेको छ ।
वायर्नको जितमा रोबर्टो लेवान्डोस्की र कोरेटिन टोलिस्सोले एक एक गोल गरे । एण्डरलेक्टका सोफिने हान्नीले एक गोल फर्काए ।


