![]()
काठमाडौ,४ मंसिर ।
आइसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटको पहिलो खेलमा नेपालले आज आयोजक थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र थाइल्याण्डबीचको खेल बैंककस्थित टेर्डथाई मैदानमा अपरान्ह पौने एक बजे सुरु हुनेछ । विश्वकपमा छनोट हुने लक्ष्य लिएको नेपाली टोली बंगलादेशमा बिशेष तयारी गरेर थाइल्याण्ड पुगिसकेको छ । र, नेपाल आफुभन्दा अब्बल टिम थाइल्याण्डलाई पराजित गर्दै प्रतियोगिताको सुखद सुरुवात गर्न चाहन्छ । नेपाली टिमले विश्वकप छनोटको लागि लक्षित गर्दै बंगलादेश भ्रमण गरेको थियो । बंगलादेशको राष्ट्रिय टोलीसँग र अन्य क्लबसँग केहि मैत्रीपूर्ण खेल खेलेर नेपाली टिम थाइल्याण्ड प्रस्थान गरेको हो ।
महिला टि–ट्वान्टी विश्वकप छनोटको एसिया छनोटमा नेपाल, अयोजक थाइल्याण्डसंगै हङकङ, युएई, मलेसिया र चीन गरी ६ राष्ट्र रहेका छन् । नेपालले नोभेम्बर २१ तारिखमा दास्रो खेल हङकङ विरुद्ध खेल्नेछ । तेस्रो खेलमा २३ तारिखमा युएईसँग प्रतिस्पर्धा गर्ने नेपालले आफ्नो चौथो खेलमा मलेसियासँग २४ नोभेम्बर र अन्तिम खेल चीनसँग नोभेम्बर २६ मा खेल्नेछ ।
राउण्ड रोविनको आधारमा हुने खेलमा लिगको शिर्ष दुई टोलिले आगामी जुनमा नेदरल्याण्डमा हुने ग्लोबल क्वालिफयर्समा छनोट हुने छ । ग्लोबल क्वालिफयर्सको शिर्ष दुई टोलिले आगामी बर्ष वेष्ट इन्डिजमा आयोजना हुने महिला टि–ट्वान्टी विश्वकपमा स्थान बनाउनेछ ।
एसिया छनोटको लागि नेपालले यसअघि नै नेपाली टोलीको घोषणा गरेको छ । नेपालले रुविना क्षेत्रीको कप्तानीमा नेपाली टोलि घोषणा गरेको हो । नेपाली टोलीमा कप्तान रुविनासँगै सीता राना मगर, ज्योती पाण्डे, सरिता मगर, नेरी थापा, रोमा थापा, इन्दु बर्मा, करुना भण्डारी र सोनु खड्का रहेका छन् ।
त्यस्तै, लक्ष्मी चौधरी, रितु कनोजिया, संगिता राई, काजोल श्रेष्ठ, र सव्नम राई रहेका छन् । बैकल्पिक खेलाडीमा कविता कुन्वार, रेखा रावल र नितु भण्डारी रहेका छन् ।


