![]()
बिबिसि । लियोनार्दो दा भिन्चीले बनाएको ठानिएको क्राइस्टको पाँचसय वर्ष पुरानो एउटा चित्रकला न्यूयोर्कमा ४५ करोड डलरमा विक्री भएको छ । उक्त चित्रकलाको नाम ’स्यालभेटर मुण्डी’ (सेभिएर अफ द वर्ल्ड) हो । कुनै पनि कलालाई दिइएको यो हालसम्मकै उच्च लिलामी मुल्य हो ।
विक्रिको घोषणा हुँदा न्यूयोकस्थित क्रिष्टीको लिलामी कोठामा मानिसहरुले ताली बजाएका थिए र खुसी व्यक्त गरेका थिए ।
लियोनार्दो दा भिन्चीको मृत्यु सन् १५१९ मा भएको थियो र उनका २० भन्दा कम चित्रकला अस्तित्वमा छन् । ती मध्ये स्यालभेटर मुण्डी नामक चित्रकला सन् १५०५ मा बनाइएको ठानिएको छ ।
उक्त चित्रकलाका लागि अन्तिम मुल्य ४० करोड डलर तोकिएको थियो । परिचय नखुलेका ग्राहक २० मिनेटसम्म चलेको लिलाम बढाबढमा टेलिफोनमार्फत सहभागी भएका थिए । चित्रमा क्राइस्टको एउटा हात उठेको र अर्को हातले सिसाको गोलाकार वस्तु समातेको देखिन्छ ।
सन् १९५८ मा उक्त चित्रकला लण्डनमा ६० डलरमा विक्री भएको थियो । त्यसबेलासम्म सो चित्रकला लियोनार्दो स्वयंको नभइ उनका एकजना अनुयायीले बनाएको ठानिन्थ्यो ।
चार वर्षअघि उक्त चित्रकलालाई एकजना रुसी नागरिकले १२ करोड ७५ लाख डलरमा किनेका थिए । तर त्यो लिलामी नभइ एउटा निजी विक्री थियो ।


