![]()
काठमाडौ,२७ कार्तिक ।
सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा नेपाल) ले प्रदेश २ मा मात्र चुनावी तालमेल गरेको भन्दै अन्य प्रदेशका नेताले असन्तुष्टि व्यक्त गरेका छन्। पार्टीका शीर्ष नेता आफू जित्ने सुनिश्चितताका लागि प्रदेश २ मा मात्र तालमेल गरेको अन्य प्रदेशका नेताहरूले आरोप लगाएका छन् । प्रदेश २ मा प्रतिनिधि सभाका ३२ वटा सिटमध्ये १७ वटा फोरम नेपाल र १५ वटा राजपा नेपालले लिएका छन् ।
त्यस्तै, प्रदेश सभाका ६४ सिटमध्ये ३१ राजपा नेपाल र ३३ वटा फोरम नेपालले लिएका छन् । सुरक्षित स्थान खोज्दै मधेसवादी दलका अध्यक्षले प्रदेश २ मा नै उम्मेदवारी दिएका छन्। प्रदेश १ सुनसरीका फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सप्तरी २ बाट चुनाव लड्दै छन्। अध्यक्ष मण्डलका सदस्यहरू राजकिशोर यादव सिरहा ४, राजेन्द्र महतो धनुषा ३, शरतसिंह भण्डारी महोत्तरी १, महन्थ ठाकुर महोत्तरी ३, महेन्द्र राय यादव सर्लाही २ र अनिल कुमार झा रौतहट १ बाट चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । स्थानीय तहको चुनावमा आएको मतका आधारमा सिट बाँडफाँड गरेका कारणले राजपा नेपालले अन्य प्रदेशमा फोरम नेपालसँग तालमेल नगरेको हो । राजपाले प्रदेश २ बाहेक अन्य प्रदेशको स्थानीय तहको चुनावमा भाग लिएको थिएन ।
राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले आफ्नो पार्टीले अरू प्रदेशको स्थानीय तहको चुनावमा भाग नलिएको र त्यो मापदण्ड अन्य क्षेत्रमा नरहेकाले तालमेल नगरेको बताए। प्रदेश २ मा दुई दलबीच चुनावी तालमेल भए पनि सोही दलका नेताले विद्रोही उम्मेदवारी दिएका कारण नेताहरू तनावमा देखिएका छन्। ससफो नेपालका अध्यक्ष यादवविरुद्ध राजपा नेपालका सहमहामन्त्री जेपी ठाकुरले बागी उम्मेदवारी दिएका छन् भने महन्थ ठाकुरविरुद्ध राजपा नेपालकै चन्देश्वर झा, अनिलकुमार झाविरुद्ध फोरम नेपालका बबन सिंहले उम्मेदवारी दिएका छन्। हालसम्म उनीहरूले उम्मेदवारी फिर्ता लिएका छैनन्।
यी दुई दलका अन्य नेताविरुद्ध पनि बागी उम्मेदवारी परेका छन् । यिनै बागीका कारण कतिपय नेताको हारजीत हुनसक्छ । राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले बागी उम्मेदवारलाई फिर्ता लिन निर्देशन दिएका छन् तर कार्यान्वयन हुन सकेको छैन ।


