![]()
चितवन,कार्तिक ।
यसअघि स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेससग मिलेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नी छोरी रेणु दाहाललाई भरतपुर महानगरपालिकाको मेयरमा जिताए । उनले त्यति बेला नेपाली कांग्रेस नै मुलुकको शान्तिप्रक्रिया टुङ्गोमा पु¥याउने र प्राप्त उपलब्धि संस्थागत गर्न प्रमुख शक्ति भएको भन्न थाकेका थिएनन् । एमालेलाई वर्तमान उपलब्धि र संविधान फेल गराउने शक्तिको आरोप प्रचण्डले लगाएका थिए । तर,आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधि ंचुनावमा भने प्रचण्डले परिर्वतनको बाधक शक्ति भन्ने गरेको एमालेसंग घाटी जोडेर आफु र आफ्नो पार्टीको अस्तित्व जोगाउन प्रयास गरिरहेका छन् । प्रचण्डको यसप्रकारको दहिच्युरे रणनीति विगतमा सफल भएको थियो तर यसपटक कति सफल हुन्छ त्यो भने प्रतिक्षाको विषय बनेको छ ।
केही दिनअघि पहिलो चुनावी अभियानको क्रममा उमेदवार दर्ता गरेलगत्तै कात्तिक १६ गते चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा भएको कम्युनिष्ट गठबन्धनको संयुक्त चुनावी आमसभामा यसअघि कहिल्यै नखोलेको कुरा प्रचण्डले खोले । मदन भण्डारीसँगको डिनर मिटिङ अधुरै रहेको बताएका उनी अहिले चितवनमा घरदैलो अभियानमा छन् । उनका अनुसार कम्युनिष्ट कै एकताका लागि २०५० साल जेठको ११ गते भण्डारीसँग डिनर मिटिङ गर्ने सहमति भएको थियो । तर त्यो ११ गते अधुरै रहयो । जेठको तीन गते नै भण्डारीको मृत्यु भयो र त्यो मिटिङ हुनै पाएन । त्यो अधुरो काम अहिले प्रचण्ड र केपी ओलीले पुरा गर्न लागेको छ भनेर मञ्चमा भन्दा उनले कार्यकर्ताको ठुलै ताली पाए । यसपटक दोस्रो चुनावी कार्यक्रमको शुरुआत कै दिनदेखि नै भरतपुरमा उनले फेरि दुईवटा नयाँ कुरा खोले ।
अघिल्लो महिना चुनावको विषयमा अदालतमा मुद्दा पुग्यो । चुनाव सर्ने चर्चा व्यापक भयो । त्यही बेला केपी ओली, प्रचण्ड, माधव नेपाल लगायतका नेताहरुले चुनाव सर्यो भने वाम शक्ति एक भएको घोषणा गरेर चुनावी मैदानमा जाने सैद्धान्तिक सहमतिसमेत भएको प्रचण्डले बताए ।
उनले पार्टी एकतालाई थप पुष्ट्यार्इँ गर्दै बुधबार मात्रै पनि पार्टी एकता छिट्टै टुंग्याईदिने भनेर दुई पार्टीबीच छलफल भएको दावीसमेत गरे । उनले अर्को नयाँ कुरा पनि भने । शान्ति प्रक्रियामा आउने बेलामा भएको तत्कालिन सात दल र माओवादीबीचको सहमतिको आधार त्यसअघि नै तयार भएको बताए । रोल्पाको लोसे गाउँमा दुई पार्टीबीच लिखित सम्झौता भएको र त्यही सम्झौताको आधारमा नै १२ बुँदे समझदारी सम्भव भएको उनले खुलाए । त्यसैले यो बीचमा पचासौँपटक एकताको प्रयास गरिएको भन्दै उनले अहिलेको गठबन्धन साँच्चै एकतामा परिणत हुने जिकिर पनि गरे ।
भरतपुर महानगरमा रेणु दाहाल र कांग्रेससँगको सहकार्य जस्तै त हुन्न भनेर एमाले कार्यकर्तामा आशंका पैदा हुन सक्ने आँकलन गरेर उनले यस्ता नयाँ नयाँ कुराहरु अघि सारेको हुन सक्ने स्थानीय नेताहरु बताउँछन् । उनले यहाँको महिला भेलामा महिलाहरुलाई विश्वास दिलाउँदै भनेः‘पार्टी एकता भै नै सक्यो ।’ प्रतिक्रियावादीहरुले एकता फुटाउने मेहनत गर्दैछन् र गर्नेछन् भन्दै उनले तल्लो तहबाटै खबरदारी गर्न आग्रह पनि गरे । कांग्रेसलाई गाली गर्नमा उनी पहिलेदेखिनै संयमित देखिँदै आएका छन् ।
यसअघि भएका सभामा पनि उनी अन्य नेताहरु कांग्रेससँग आक्रोशित हुँदा उनी केही सम्यमित देखिएका थिए । सांकेतिक रुपमा उनले केही प्रतिक्रिया जनाएका छन् । कार्यक्रममा कांग्रेसको नाम नलिईकन इंगित गर्दै प्रतिक्रियावादीहरु तरङगित बनेको र अधिनायकबाद लाद्छ भनेर प्रचार गरिरहेको भन्दै उनले कम्युनिष्ट गठबन्धन लोकतान्त्रिक विधिभन्दा बाहिर नजाने विश्वास दिलाए ।
प्रत्यक्षतर्फ महिलालाई कम टिकट दिनु आफूहरु दुवै पार्टीको कमजोरी भएको बताउँदै आगामी दिनमा सच्याएर अघि बढ्ने बताएका थिए । अहिलेको चुनाव सामान्य चुनाव जित्नेमात्रै नभई समाजवादी युगको सुत्रपात गर्न भएको उनको भनाई थियो ।
कांग्रेसविरुद्ध कडा रुपमा प्रस्तुत भएका एमाले नेता तथा कम्युनिष्ट गठबन्धनका तर्फबाट चितवन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उमेदवार सुरेन्द्र पाण्डेले कांग्रेसभन्दा धेरै लोकतान्त्रिक पार्टी वाम गठबन्धन भएको भन्दै कांग्रेस राजावादीको पाउ बनेर गएको आरोप लगाए ।


