Breaking News.... EverestOnlineKhabar
October 2, 2026

आगामी निर्वाचनमा कुन दलले कति सिट जित्लान् ? यस्तो छ उनीहरुको दावी…..

Loading

काठमाडौ,२३ कार्तिक ।
प्रमुख दलहरूले आन्तरिक रूपमा आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफूले जित्ने सिट संख्याबारे आकलन गर्न थालेका छन्। दुई चरणमा गरी प्रतिनिधिसभातर्फ १६५ क्षेत्रमा निर्वाचन हुँदै छ। प्रमुख दल र क्षेत्रीयस्तरका दलले जित्न सकिने निर्वाचन क्षेत्रको पहिचान गरेका छन्।
संविधानसभाको ठूलो दल कांग्रेसले एक सयभन्दा बढी सिट जितेर फेरि पनि ठूलो दल बन्ने दाबी गरेको छ। उता, माओवादीसँग गठबन्धन गरेको एमालेले प्रत्यक्षतर्फ एक्लै स्पष्ट बहुमत ल्याउने दाबी गरेको छ। प्रतिनिधिसभाका १६५ मध्ये ९६ सिटमा मात्रै उम्मेदवारी दिएको एमालेले करिब ९० सिट जित्ने दाबी गरेको छ। माओवादी, फोरम र राजपालगायतले आन्तरिक सर्वेक्षण गरिरहेको जनाएका छन् ।
१०० सिट कटाउने कांग्रेस दाबी
कांग्रेसको आन्तरिक सर्वेक्षणले सयभन्दा बढी सिटमा जित हुने देखाएको छ। ६० स्थानमा जित सुनिश्चित रहेको र मिहिनेत गर्दा थप ५० स्थानमा पनि जितिने सर्वेक्षणले देखाएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलको दावी छ । १६५ क्षेत्रमध्ये कांग्रेसले राप्रपा र राप्रपा प्रजातान्त्रिकसँग चार–चार तथा नयाँ शक्ति र संघीय समाजवादी फोरमसँग एक–एक स्थानमा तालमेल गरेको छ।
८७ सिट जित्ने एमाले दाबी
एमालेले उम्मेदवारी दिएका मध्ये ९० प्रतिशत स्थानमा जित्ने बताएको छ। ९६ स्थानमा उम्मेदवारी दिएको एमालेको दाबी सही भएमा उसले ८७ सिट जित्नेछ। पार्टी केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले उम्मेदवारी दिएका स्थानको ९० प्रतिशत जित्ने गरी रणनीति बनाएर पार्टी अघि बढिरहेको बताए। वाम गठबन्धनका माओवादीले ६२ स्थानमा उम्मेदवारी दिएको छ भने सात स्थान साना दल र स्वतन्त्रले लिएका छन्।
आन्तरिक रिपोर्ट पर्खंदै माओवादी
माओवादी केन्द्रले प्रतिनिधिसभा निर्वाचनमा पार्टीले कति स्थानमा जित्छ भन्ने आकलन गरिनसकेको जनाएको छ। प्रवक्ता पम्फा भुसालले टिकट लिएर उम्मेदवारी दर्ता गरेका नेताहरू नफर्किएकाले वस्तुस्थिति पार्टीले बुझ्न नपाएको बताइन्। एमालेसँग संयुक्त घोषणापत्र नै जारी गरेर चुनावी अभियानमा लागेको माओवादीले प्रतिनिधिसभामा ६२ स्थानमा उम्मेदवारी दिएको छ।
स्थानीय चुनावभन्दा सुधार राप्रपा
स्थानीय निर्वाचनको असफलता र पार्टी विभाजनको पीडालाई सुुधार्ने रणनीति राप्रपाको छ। सहप्रवक्ता मोहन श्रेष्ठले अहिले पार्टीको अवस्था सुधारेर चमत्कार देखाउने गरी आफूहरू लागिरहेको बताए।
प्रदेश नं.२ मा बहुमत ल्याउने फोरमको दाबी
तराई–मधेस र पूर्वी पहाडी जिल्लामा पकड रहेको संघीय समाजवादी फोरम तेस्रो शक्ति बन्ने गरी रणनीति बनाएर चुनाव प्रचारप्रसारमा लागिरहेको छ। पार्टी सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जितिने सिट संख्या तोकेरै भन्न नसके पनि तेस्रो शक्ति बन्ने रणनीतिका साथ प्रचारप्रसार गरिरहेको बताए। फोरमले १७ र राजपाले १५ सिट लिने गरी प्रदेश नं. २ मा दुवै पार्टीले तालमेल गरेका छन्।
आकलन गर्दै राजपा
मधेसकेन्द्रित दल राजपाले अहिलेसम्म पार्टीले जित्न सक्ने निर्वाचन क्षेत्र कति हुन् भनेर लिस्टिङ गर्न नभ्याएको बताएको छ। पार्टी महासचिव केशव झाले निर्वाचनको प्रचारप्रसारमा दौडिनुपर्ने भएकाले प्राविधिक रूपमा पार्टीको कुन क्षेत्रमा राम्रो छ, कस्तो प्रयास गरे जित्न सकिन्छ भन्ने प्रतिवेदन तयार पार्न नभ्याएको जानकारी दिए। प्रदेश नम्बर २ मा राजपा र संघीय समाजवादी फोरमले तालमेलमा उम्मेदवार उठाएका छन् भने राजपाले एक्लै अन्य प्रदेशका मधेसका जिल्लामा उम्मेदवार उठाएको छ।
उम्मेदवारी दिएका सबै अर्थात् ४ सिट जित्ने राप्रपा प्रजातान्त्रिकको दाबी
पशुपतिशमशेर जबरा नेतृत्वको राप्रपा प्रजातान्त्रिकले प्रतिनिधिसभामा उम्मेदवारी दिएका चार स्थानमा शतप्रतिशत नतिजा ल्याउने बताएको छ। प्रवक्ता राजेन्द्र गुरुङले उम्मेदवारी दिएको शतप्रतिशत स्थानमा जित्ने सुनिश्चित रहेको जानकारी दिए। कांग्रेससँग तालमेल गरेको राप्रपा प्रजातान्त्रिकले सिन्धुपाल्चोक १, चितवन ३, रुपन्देही ३ र धनकुटामा उम्मेदवार बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed