![]()
बिबिसि । एशिया भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाको संसदमा बोल्दै उत्तर कोरियाका नेता किम जङ अनलाई चेतावनी दिएका छन् ।
ट्रम्पले उत्तर कोरियाली नेता किमलाई सम्बोधन गर्दै भने, “हामीलाई कम नआँक्नु, हामीमाथि प्रयोग नगर्नु, तपाईँसँग भएका हतियारले तपाईँलाई सुरक्षित बनाउँदैनन् । त्यसले तपाईँको सत्तालाई ठूलो खतरा पुर्याएको छ ।“
ट्रम्पले सोलमा सांसदहरुलाई सम्बोधन गर्दै कोरियाली युद्ध यता उत्तर कोरियाको तुलनामा दक्षिण कोरियाको प्रगतिको प्रशंसा गरे । उनले उत्तर कोरियालाई “इतिहासको प्रयोगशालाको दुःखदायी प्रयोग“ को संज्ञा दिए ।
ट्रम्पले प्योङयाङलाई चेतावनी दिँदै भने, “यसअघिको अमेरिकाको व्यवहारलाई उसले कमजोरी भन्ठानेको होला अब अमेरिकामा फरक प्रशासन छ ।“ उनले आणविक कार्यक्रम त्याग्न उत्तर कोरियालाई आग्रह गरे ।
“उत्तर कोरिया तपाईँको हजुरबाले सोचेको जस्तो स्वर्ग छैन । यो कुनै पनि व्यक्तिले भोग्नु नपर्ने नर्क छ,“ ट्रम्पले उत्तर कोरिया स्थापना गरेका किम इल सङ जो किम जङ अनका हजुरबा हुनलाई उल्लेख गर्दै भने ।
ट्म्पले चीन र रुसलाई प्योङयाङमाथि उसका आणविक हतियार त्याग्न दबाब बढाउनका लागि पनि आग्रह गरे । जापानबाट भ्रमण शुरु गरेका ट्रम्प दक्षिण कोरियाबाट चीन जाँदैछन ।


