![]()
काठमाडौ,१७ कार्तिक ।
राजनीतिमा युवाको सहभागिता र नेतृत्व पुस्तान्तरणको बहस उठ्ने गरेपनि यसपटक मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा चुनावमा केही हस्ती र युवा छुटेका छन् । केहि नेताहरु जिल्लाबाट सिफारिश भएन भने केहीको नाम अन्तिम समयमा आएर काटिएको छ ।
टिकट नपाउने हाइ प्रोफाइल नेतामा एमाले उपाध्यक्ष युवराज ज्ञवाली, नेपाली कांग्रेसका मनमोहन भट्टराई, नेपाली कांग्रेसका प्रभावशाली युवा नेता धनराज गुरुङ लगायत रहेका छन् । त्यस्तै,नेकपा एमाले अनुशासन कमिटीका संयोजक अमृतकुमार बोहरा,पूर्व वनमन्त्री समेत रहेका एमाले नेता भानुभक्त जाशीले उम्मेदवारी पाएनन् । उनी वझाङबाट सिफारिसमा परेका थिए ।
यस्तै,कांग्रेसका रञ्जित कर्ण, प्रतिमा गौतम र बद्री पाण्डे जस्ता चर्चित युवा नेताहरु उम्मेदवार बन्नबाट बञ्चित बनेका छन् ।स्याङ्जाबाट चुनाव उठ्न खोजेका संविधानसभामा दुईपटक सांसद बनेका धनराज गुरुङलाई कांग्रेसले प्रदेश सभामा प्रस्ताव गरेपछि उनले अपमानितक भएको भन्दै अस्वीकार गरे । स्याङ्जाबाट गोपालमान श्रेष्ठले उम्मेदवारी पाए । दोस्रो संविधानसभा चुनावमा काठमाडौं २ बाट माधव नेपालसंग चुनाव लडेकी गौतमले यसपटक टिकट पाइनन् ।
एमाले अखिलका पूर्वअध्यक्षहरु ठाकुर गैरे, खिमलाल भट्टराई, माधव ढुंगेल, किशोर विक्रम मल्ल लगायतका चर्चित युवा नेताहरु उम्मेदवार बन्नबाट बञ्चित भए । एमाले बैकल्पिक सदस्य रहेका गैरे पाल्पाबाट उम्मेदवार बन्ने चर्चा थियो भने, भट्टराई रुपन्देहीबाट सिफारिशमा परेका थिए । गत संविधानसभा चुनावमा प्रत्यक्षतर्फ विजयी भएका पूर्व पर्यटन मन्त्री दोलखाका आनन्द पोखरेल, अर्घाखाँचीका डा. दुमन थापाले पनि टिकट पाएनन् ।
माओवादी केन्द्रका तर्फवाट अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपाने, हिमाल शर्मा, युवा नेता गणेशमान पुन लगायतका नेताहरुले टिकट पाएनन् । काठमाडौं ६ बाट टिकट पाउने भन्दै राजनीतिक अभियान शुरु गरेका शर्माको अन्तिम समयमा नाम काटिएपछि उनले सामाजिक सञ्जाल फेसवुकमा आक्रोश पोखेका छन् । काठमाडौं ६ बाट अन्तिममा झक्कु सुवेदीले टिकट पाएका छन् । टिकट पाएपनि आफूले रोजेको स्थान नपाउदा पूर्व महासचिव रामबहादुर थापा उम्मेदवार बन्न पाएनन् । उनी चितवन २ बाटै चुनाव लड्न खोजेपनि एमालेले सो क्षेत्र छोड्न नमान्दा उनले चुनाव लड्न पाएनन् ।


