![]()
एजेन्सी,१२ कार्तिक ।
इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीको अपराजित यात्रा कायमै छ । शनिबार राती भएको खेलमा वेष्ट ब्रोमलाई ३–२ ले हराउँदै म्यान्चेस्टर सिटीले अंक तालिकाको अग्रता कायमै राख्यो । खेलमा म्यान सिटीलाई विजयी गराउन लेरोए साने, फर्नान्डिनो र राहिम स्टर्लिङले एक–एक गोल गरे । वेष्ट ब्रोमका जे रोड्रिग्वेज र म्याथ्यु फिलिप्सले एक–एक गोल फर्काए ।
जारी सिजनको इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीलाई टक्कर दिईरहेको म्यान्चेस्टर युनाईटेडले शनिबार राती टोटनह्याम हट्सपरलाई १–० ले हरायो । खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन एन्टोनी मार्टियलले निर्णायक गोल गरे ।
प्रिमियर लिगअन्तर्गत नै भएको अर्को खेलमा चेल्सीले बर्नमाउथलाई १–० ले हराउँदा आर्सनलले स्वान्सी सिटीलाई २–१ ले पराजित गर्यो । यसैगरी लिभरपुलले हडर्सफिल्ड टाउनलाई ३–० ले हराउँदा स्टोक सिटीले वाट्फोर्डलाई १–० ले पराजित गर्यो । क्रिष्टल प्यालेस र वेष्ट ह्याम युनाईटेडले २–२ गोलको बराबरी खेलेका छन् ।
रातीका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा १० खेलबाट २८ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडको २३ अंक छ भने २० अंक जोडेको टोटनह्याम तेस्रो स्थानमा छ । १९–१९ अंक जोडेका चेल्सी र आर्सनल क्रमशः चौथो तथा पाँचौं स्थानमा रहेका छन् ।


