![]()
काठमाडौं । व्यवस्थापिका संसदको अन्तिम दिन शनिवार बिभिन्न दलका नेता तथा शीर्ष नेताहरुले बिदाई सम्बोधन गर्नुभयो । सभामुख ओनसरी घर्तीले दिउँसो तीन बजेबाट बैठक प्रारम्भ गर्नुभएको थियो । बैठकमा बिभिन्न दलका नेताहरुले दलिय धारणा राख्नेक्रम सकिएपछि अन्त्यतर्फ शीर्ष नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
प्रधानमन्त्री देउवाले ओलीलाई भने, ‘तपाईले यस्ता कुरा गर्न सुहाउँदैन ?
व्यवस्थापिका संसद्को बैठकमा अन्तिम वक्ताका रुपमा बोल्नु भएका प्रधानमन्त्री एवम कांग्रेस सभापति शेरबहादुर देउवाले नेपालको संविधान उत्कृष्ट भएको र यसलाई अझ उत्कृष्ट बनाउन यसको संशोधनका विषयमा आफू र आफनो पार्टी स्पष्ट रहेको बताउनुभयो । उहाँले स्थानीय तह निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र अब प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई पनि सफल बनाउन सबैजना एकजुटका साथ लाग्नु आग्रह पनि गर्नुभयो ।
प्रधानमन्त्रीले निर्वाचनपछि मुलुक आर्थिक समृद्धिमा अघि बढने भएकाले निजी क्षेत्रसंगको साझेदारीलाई प्रम्ुखताकासाथ अघि बढाइने उल्लेख गर्नुभयो ।
सम्बोधनको प्रारम्भमै बिपक्षी दलका नेताले उठाएका प्रश्नको जवाफ दिउँ कि के गरु भनी ठट्यौलो रुपमा प्रस्तुत भएका प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीले उठाउनु भएका अधिकांश सवालको अन्त्यमा जवाफ दिनुभएको थियो । ओलीप्रति आक्रामक रुपमा प्रस्तुत हुनु भएका प्रधानमन्त्रीले देउवाले उल्टै प्रश्न गर्नुभयो ।
१. संविधानमा यति मन्त्री बनाउ भनेर संख्या कहाँ तोकेको छ ? प्रधानमन्त्रीले आफनो अधिकार प्रयोग गर्न पाउँदैन ? संख्या बढायो भन्ने ? भोलि संख्या घटछ पनि ? यस्ता कुरा नेताले बोल्न सुहाउँदैन ।
२. राष्ट्रियता, प्रजातन्त्र र राष्ट्रिय स्वाभिमानका विषयमा नेपाली कांग्रेसले कसैसंग सम्झौता गर्दैन ।
प्रधानमन्त्री देउवाले राष्ट्रपति बिद्या भण्डारीले संविधानिक व्यवस्था बमोजिम कार्यकारी प्रधानमन्त्रीले सिफारिस गरेको कुरा स्वीकार गरेकोमा संसदमा विशेष धन्यवाद ज्ञापन गर्नुभयो ।
एमाले अध्यक्ष ओली प्रधानमन्त्री देउवाप्रति आक्रोशित
व्यवस्थापिका संसदको बैठकमा बोल्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाप्रति आक्रोश व्यक्त गर्नुभयो । उहाँको सम्बोधनको पूरै समय प्रधानमन्त्री देउवाका गतिविधि, अभिव्यक्ति र कायैशैलीमाथि केन्द्रीत थियो । उहाँले प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको महासभाका क्रममा त्यहाँ आयोजित अन्तक्रियामा पनि नेपालको बेइज्जत गरेको आरोप लगाउनुभयो ।
अध्यक्ष ओलीले बिहान आचारसंहिता पालना गर्छु भनेर प्रतिबद्धता जनाउने साँझ मन्त्रिपरिषद थप्ने प्रधानमन्त्रीको काम आश्चार्यजनक भएको टिप्पणी गर्नुभयो । देउवा नेतृत्वको सरकार कामचलाउ भैसकेकाले यसले चुनाव नगराएसम्म सरकार ढाल्ने कुनै गतिविधि आफूले नगर्ने स्पष्ट पार्नुभयो ।
अध्यक्ष ओलीले अबको निर्वाचनपछि एमाले एकलौटी प्रमुख दल हुने दावी गर्नुभयो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कांग्रेससंग दुःखी
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धनपछि सरकार परिर्वतनको खेलमा नलाग्ने आफ्नो बचनमा प्रधानमन्त्रीले विश्वास नगरेको भन्दै दुःख व्यक्त गर्नुभयो ।
अध्यक्ष प्रचण्डले एमाले र माओवादीको चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमतिलाई कांग्रेसले कम्युनिष्ट शासन आउने भयो भनेर प्रचार गरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो , ‘यो लोकतान्त्रिक अभ्यास भित्रको कुरा हो । बाहिरको होइन ।’ माओवादीले समर्थन गर्छ भन्दाभन्दै प्रधानमन्त्रीले मन्त्री थपेकोमा उहाँले असन्तुष्टि जनाउनुभयो ।
राप्रपा अध्यक्ष कमल थापाले के भने ?
संसदमा बिदाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा विखण्डनकारीको जन्म भएको बताउनुभयो । अध्यक्ष थापाले परिवर्तनका नाममा नेपालमा विखण्डनकारीको जन्म भएको धारणा राख्नुभयो । सविधान निर्माण भइसकेपछि देश स्थिरता र आर्थिक प्रगति हुने अपेक्षा नेपाली जनताको रहे पनि त्यस्तो अनुभूति गर्न नपाएको उहाँले बताउनुभयो ।
सीपी मैनालीले भने–संविधान संशोधन गर्न बिज्ञ समूह गठन गरौं
संसदमा बोल्दै नेकपा (माले) का नेता सीपी मैनालीले नेपालको संविधान पूर्ण नभएको भन्दै संशोधनका लागि विज्ञ समूह गठन गर्नुपर्ने सुझाव दिनुभयो । नेता मैनालीले तराई मधेश लगायत पहिचानको विषयलाई संविधानले सम्बोधन गर्न नसकेको उल्लेख गर्नुभयो ।
चित्रबहादुरलाई दलहरुको तागतमा बिश्वास
संसद बैठकमा बोल्दै राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक दलहरुले निर्णायक भूमिका खेलेकै कारण संविधान निर्माण सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘राजनीतिक दलले निर्णायक भूमिका खेलेकै कारणले सविधान निर्माण सफल भयो’, इन्द्रका बाउ चन्द्र आएपनि सविधान जारी गरेरै देखाई दिए ।’
पहिलो सविधानसभामा दलका नेताहरु अलग अलग हुँदा सविधान निर्माण सफल हुन नसकेको स्मरण गर्दै उहाँले संविधान निर्माणको बखत नेताहरुले एकता कायम गरेपछि मात्रै त्यो सम्भव भएको बताउनुभयो ।
राजपाका यादवले भने संविधान अपूर्ण
राष्ट्रिय जनता पार्टी (राजपा)का नेता महेन्द्र यादवले संविधान अझै पनि अपूर्ण भएको भन्दै यसलाई संशोधन गरी पूर्ण बनाउन दलहरुको ध्यानाकर्षण गराउनुभयो । उहाँले संविधान संशोधनको वाचा गरेपनि प्रमुख दलका नेताहरुले आफूहरुमाथि धोकाको राजनीति गरेको आरोप लगाउनुभयो ।


