Breaking News.... EverestOnlineKhabar
June 4, 2026

दशैँमा खसीबोकाको व्यापारःएक हप्तामा ४४ करोडका खसीबोका बिक्री…..

Loading

काठमाडौ,१२ असोज ।
घटस्थापनादेखि फुलपातीसम्म उपत्यकामा मात्रै ४४ करोड ३२ लाख रुपैयाँको खसीबोका–च्यांग्रा बिक्री भएका छन् । चौपाया खरिदबिक्री व्यवसायी संघका अनुसार एक साताको अवधिमा करिब ३५ हजार खसीबोका–च्यांग्रा बिकेका छन् । औसत मूल्य १२ हजार रुपैयाँको दरले ४२ करोड रुपैयाँको बिक्री भएको जनाइएको छ ।
यस्तै नेपाल खाद्य संस्थानले खसीबोका र च्यांग्रा गरी १९ सय ३७ वटा बिक्री गरेको छ । संस्थानका प्रवक्ता शंकर सापकोटका अनुसार ती खसीबोका र च्यांग्रा करिब २ करोड ३२ लाख रुपैयाँमा बिक्री भएका हुन् । संस्थानले प्रतिकिलो च्यांग्रा ६ सय ७५ र खसी ४ सय ५५ रुपैयाँमा बिक्री गरेको थियो । चौपाया संघले प्रतिकिलो च्यांग्रा ७ सय २० रुपैयाँ र खसी ५ सय ५० रुपैयाँसम्मा बिक्री गर्दै आएको छ ।
संस्थानले मुस्ताङबाट ८ सय ७० च्यांग्रा र तराईका जिल्लाबाट १ हजार ६७ वटा खसीबोका ल्याएको थियो । खसीबोका मकवानपुर र तुलसीपुरबाट मात्रै खरिद भएको संस्थानले जनाएको छ । ढुवानी र प्रशासनिक खर्च जोडेर खसीबोकाहरू बिक्री गरेको थियो । खसीबोका खरिद गर्न प्रिमुख जिल्ला अधिकारीको संयोजकत्वमा खरिद कमिटी गठन गरेको थियो । स्थानीय प्रशासनले बजार मूल्य निर्धारण गर्छ । त्यसपश्चात् काठमाडौंमा ल्याउन ढुवानी भाडा र बजार मूल्यअनुसार बिक्री मूल्य निर्धारण गरेको जनाएको छ ।
गत वर्ष संस्थानले १४ सय ५० वटा च्यांग्रा र १३ सय ७० वटा खसीबोका ल्याएको थियो । तर, दसैंपश्चात् पनि बिक्री गरेको थियो । चालु आर्थिक वर्षमा स्थानीय तहको निर्वाचन र तराई क्षेत्रमा भएको बाढीका कारण कम परिमाणमा खरिद गरेको जनाएको छ । संघका अनुसार खसीबोको अधिकतम माग अष्टमीको दिनसम्म हुन्छ । त्यसपश्चात् फाटफुट रूपमा बिक्री हुने उनले बताए । व्यवसायीका अनुसार खुद्रा बिक्री गर्नेको संख्या बढेकाले संघबाट कम परिमाणमा बिक्री भएको हो ।
व्यवसायीहरूले स्वदेशी उत्पादनसँगै भारतबाट पनि खसीबोका आयात गर्छन् । संघका अनुसार दसैंका लागि करिब ९० प्रतिशत खसीबोका भारतबाट आयात हुन्छ । माग धान्नका लागि गत वर्ष भारतबाट थप ५ लाख २ हजार खसीबोका (करिब ६ अर्ब २ करोड रुपैयाँ) को आयात भएको थियो । आयात बर्सेनि बढ्दै गएको छ । आयातित खसीबोकाको मुख्य बजार भने काठमाडौं नै हो । छिटफुट रूपमा पोखरामा पनि बिक्री भएको व्यवसायी बताउँछन् । व्यवसायीले भारतका विभिन्न १० ठाउँबाट खसीबोका आयात गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed