![]()
लहान,९ असोज ।
मधेश आन्दोलनको उद्गमस्थलरुपमा रहेको सिरहामा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र नेपाल लोकतान्त्रिक फोरमले स्थानीय तह निर्वाचनमा एउटा पनि स्थानीय तह जित्न नसक्दा नेता कार्यकर्ता निराश बनेका छन् । मधेश आन्दोलनकै क्रममा विभिन्न मधेश केन्द्रित दल मिलेर बनेको राजपा मधेश आन्दोलनकै उद्गमस्थल सिरहामा नराम्रोसँग पराजित भएपछि नेता कार्यकर्तामा निराशा छाएको हो ।
राजपा अध्यक्ष मण्डलका अध्यक्ष राजकिशोर यादव, राजपाका नेता रामुकमार मण्डल लगायतका केन्द्रीय नेताको गृह जिल्लासमेत रहेको सिरहामा १७ स्थानीय तहमध्ये एउटा पनि स्थानीय तह जित्न नसक्दा नेता कार्यकर्ता मात्र होइन, सर्वसाधारणसमेत आश्चर्य चकित भएका छन् ।
आन्दोलनकै गर्भबाट जन्मेको राजपाले आन्दोलनकै उद्गमस्थलमा नराम्ररी हार्नुले आफूहरु आश्चर्यमा परेको सर्वसाधारण बताउँछन् । राजपाका नेताबीच टिकट वितरणमा भएको किचलो, ढिलो गरी चुनावमा जाने निर्णय गर्नुजस्ता कारणले राजपा यहाँ नराम्ररी पराजित भएको लहान नगरपालिका– ८ का सत्यनारायण चौधरी बताउँछन् ।
सर्वसाधारण मात्र होइन, स्वयं राजपाका नेतासमेत आफ्नै कमीकमजोरीका कारण चुनावमा अकल्पनीय परिणाम आएको स्वीकार्छन् । अहिलेको चुनावमा भएको कमीकजोरीबाट पाठ सिकेर अगामी मंसिरमा हुने चुनावमा बढी सिट जित्ने गरी तयारीमा जुटेको एक जिल्ला स्तरको नेता बताउँछन् ।
यस्तै सत्ताघटक नेपाल लोकतान्त्रिक फोरमले पनि सिरहामा खाता खोल्न सकेन । निर्वाचनको पूर्वसन्ध्यामा पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सिरहामा पार्टीलाई जिताउन ठूलै प्रयास गरे तर उनको प्रयास सार्थक हुन नसक्दा नेता कार्यकर्तामा निराशा छाएको छ । दोस्रो संविधानसभा निर्वाचनमा सिरहाको चार वटा क्षेत्र जितेको नेपाली काँग्रेस स्थानीय तह निर्वाचनमा मात्र दुई वटा स्थानीय तह जित्न सफल भएको छ ।
काँग्रेस कोषाध्यक्ष सीतादेवी यादव, पूर्वकोषाध्यक्ष चित्रलेखा यादव, प्रभावशाली नेता प्रदीप गिरी, पद्मनारायण चौधरीजस्ता काँग्रेसका प्रभावशाली नेताको गृह जिल्लासमेत रहेको सिरहामा काँग्रेस कमजोर भएको काँग्रेसीजनको बुझाइ छ ।
पार्टीभित्र देखिएको गुटउपगुट, समयमा उम्मेदवार चयन हुन नसक्नु, उम्मेदवार चयनमा देखिएको तीव्र विवाद लगायतका कारणले जिल्लामा पार्टीले धेरै स्थानीय तह गुमाउनुपरेको काँग्रेसका नेता बताउछन् ।
असोज २ गते सम्पन्न स्थानीय तह निर्वाचनमा राजपा र नेपाल लोकतान्त्रिक फोरमले सिरहामा खाता खोल्न नसक्दा यसको फाइदा नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालले उठाएको देखिन्छ । दोस्रो संविधानसभा निर्वाचनमा सिरहाको ६ वटा निर्वाचन क्षेत्रमध्ये एउटामा मात्र जित्न सकेको माओवादीले स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी ६ वटा स्थानीय तहमा जीत हासिल गर्दै पहिलो शक्ति बनेको हो ।
सिरहाको १७ वटै स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक हुँदा पाँच वटा स्थानीय तह जित्दै संघीय समाजवादी फोरम दोस्रो, चार वटा स्थानीय तह जितेको नेकपा एमाले तेस्रो र दुई वटा स्थानीय तह जितेको नेपाली काँग्रेस चौथोमा खुम्चिएको छ ।


