Breaking News.... EverestOnlineKhabar
April 19, 2026

Loading

काठमाडौँ,असाेज ९ — दसैं मनाउन घर जानेक्रम बढिरहेकै बेला वर्षाले ठाउँ–ठाउँमा सडकलाई क्षति गर्दा यात्रा सकसपूर्ण बनिरहेको छ । काठमाडौं उपत्यकाबाट अधिक संख्यामा यात्रु बाहिरिने नागढुंगा–नारायणगढ सडकमा पहिरोले अवरोध गर्दा यात्रु अलपत्र परिरहेका छन् । सवारी चाप बढी हुने पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डको दाउन्नेमा पानी पर्नासाथ आउजाउमा समस्या हुने गरेको छ ।

नागढुंगा–मुग्लिन सडकअन्तर्गत धादिङको जवाङखोला नजिकै सोमबार राति ११ बजे सुक्खा पहिरो खसेपछि सवारी आवागमन अवरुद्ध बनेको थियो । पहिरो पन्छाएर १६ घण्टापछि मंगलबार दिउँसो दुईतर्फी रूपमा सवारीसाधन सञ्चालन गरिएकामा बुधबार राति फेरि पहिरो खसेको छ । यही खण्डको घोप्टेभिरमा पनि पहिरो गएको छ ।

मुग्लिन–नारायणगढ सडकअन्तर्गत चितवनको तुइनखोलामा पनि पहिरोले आवागमन ठप्प छ । तुइनखोलामा गत शुक्रबार नै पहिरो खसेपछि करिब ४५ घण्टापछि पहिरो पन्छाएर आइतबार एकतर्फी सञ्चालन गरिएको थियो । त्यस क्षेत्रमा सोमबार भने दुईतर्फी रूपमा सवारीसाधन चलेका थिए तर मंगलबार दिउँसो फेरि पहिरो गएपछि आउजाउ रोकिएको छ ।

‘तुइनखोलाको पहिरो पन्छाउन नपाउँदै धादिङतर्फको जवाङखोलामा पहिरो खसेर समस्या भएको थियो । अहिले दुवैतिर समस्या छ,’ नागढुंगा–मुग्लिन सडक योजना पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालले भने । पहिरोले सडक अवरुद्ध गर्दा यात्रु मंगलबारदेखि धादिङ र चितवनका विभिन्न स्थानमा अलपत्र छन् । सडक विभागका अनुसार पहिरो पन्छाउने क्रम जारी छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । सडक विभागले पनि नारायणगढ–मुग्लिन सडकको विकल्पका रूपमा त्रिभुवन राजपथको नौबिसे–हेटौंडा, कान्ति राजमार्गको सातदोबाटो (ललितपुर)–भैरव मन्दिर–बगुवा–लेनडाँडा–हेटौंडा, कालीगण्डकी करिडोरको गैंडाकोट–पाल्पा रामपुर–भिमाद (तनहुँ), फिर्केखोला–धादिङबेसी–सल्यानटार, आरुघाट–आँबुखैरेनी, पोखरा–बुटवल सडक प्रयोग गर्न आग्रह गरेको छ । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख शुभराज न्यौपानेका अनुसार मुग्लिनबाट नारायणगढतर्फ लाग्दै गर्दाको खण्डमा भौगोलिक बनावट निकै जटिल र अप्ठ्यारो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed