![]()

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रिय हितको संरक्षण तथा प्रवर्द्धन गर्न सदैव तयारी अवस्थामा रहन नेपाली सेनालाई निर्देशन दिएका छन् । प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको एक वर्ष पुगेको अवसरमा आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै सेनापति शर्माले राष्ट्रिय हितको संरक्षण तथा प्रवर्द्धन गर्नका लागि सदैव तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।
‘नेपाली सेनालाई प्राप्त संवैधानिक जिम्मेवारीलाई उत्कृष्ट रूपमा निर्वाह गर्नको साथै राष्ट्रिय हितको संरक्षण तथा प्रवर्द्धन गर्नका लागि सदैव तयारी अवस्थामा रहन नेपाली सेनाका सकल दर्जालाई निर्देशन दिएको भन्दै सेनाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रधानसेनापति शर्माले हाल विकसित अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा वातावरणको सुक्ष्म अध्ययन र विश्लेषण गरेका थिए । उनले सबैको सामूहिक प्रयासबाट नेपाली सेनाको सुदृढिकरण तथा सबलीकरण हुनुका साथै समयानुकूल व्यवसायीकरण सम्भव हुने कुरा जारी विज्ञप्तिमा बताइएको छ ।
‘प्रधानसेनापति शर्माले नेपाली सेना सबै नेपाली जनताको आशा, भरोसा र एकताको केन्द्रविन्दु भएको उल्लेख गर्नुहुँदै राज्यमा उत्पन्न सङ्कट तथा विपद् व्यवस्थापनदेखि विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापनार्थ तैनाथ फौजले प्रदर्शन गरेको निःस्वार्थ सेवाभाव र पेशागत व्यावसायिकताको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रशंसा भएको समेत उल्लेख गर्नुभएको थियो,’ नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
सेनापति शर्माले निकट भविष्यमा सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न मतपत्र छपाई सुरक्षा, मतपत्र तथा मतपेटिका विकट र संवेदनशील क्षेत्रमा ढुवानी लगायत विष्फोटक पदार्थ निष्क्रिय गर्ने, मतदानस्थलको वाहिरी सुरक्षा जस्ता जिम्मेवारी उत्कृष्ट ढंगबाट निर्वाह गर्न समेत उनले सेनालाई निर्देशन दिएका थिए ।


