![]()

काठमाडौं । नेकपा एकिकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले पिछडिएका समुदायका महिलाहरु नेतृत्वमा ल्याउनुपर्ने बताएका छन् । अखिल नेपाल महिला संघ (समाजवादी) ले आज काठमाडौंमा “आगामी निर्वाचनमा महिलाको सम्मानजनक सहभागिता कसरी ?” भन्ने बिषयमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले महिलाहरुमाथि अझै पनि विभिन्न उत्पिडन, विभेद, अन्याय रहेकाले उनिहरुलाई हरेक क्षेत्रमा नेतृत्वदायी भूमीका दिनुपर्ने बताएका हुन् ।
समाजमा अझै पनि दलित, थारु, मधेसी समुदायका महिलाहरु पछि रहेकाले उनिहरुलाई नेतृत्वमा पुर्याउनु पर्नेमा उनले जोड दिए ।
‘अझै पनि महिलामाथि, विभेद छ, उत्पिडन छ । देशमा दलित, थारु, मधेसी समुदायका महिलाहरु पछि छन्, उनिहरुलाई नेतृत्वमा कसरी पुर्याउने भन्ने बिषयमा गम्भिर भएर लाग्नुपर्दछ’, अध्यक्ष नेपालले भने ।
महिलामाथि हुने हरेक किसिमका अन्याय, अत्याचार, हिंसाविरुद्ध शसक्त आवाज उठाउन उनले पार्टीका महिला नेतृहरुलाई समेत आग्रह गरे ।
अन्य पार्टीको भन्दा आफ्नो पार्टीमा महिलाको स्थान सन्तोषजनक रहेकाले आगामी चुनाव पनि महिलालाई समावेशीताको सिद्धान्तअनुसार नै स्थान दिइने अध्यक्ष नेपालको भनाई छ ।
आफ्नो पार्टीले समाजमा सदियौंदेखि पछि पारिएका जाति र समुदायलाई समेटेर अघि बढेको उनले बताए । महिलालाई नेतृत्वमा ल्याउनका लागि जिल्ला, प्रदेश र केन्द्रको नेतृत्वलाई घचघच्याउनु पर्नेमा उनले जोड पनि दिए । अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले ९ लाख २७ हजार बढी मत पाएको भन्दै यसमा आफुलाई गौरव लागेको उल्लेख गरे ।
आगामी चुनावका लागि आफुले जिल्लाबाट उम्मेदवारहरुको नाम मागिरहेको र जित्ने व्यक्तिलाई अगाडि साार्न उनले पार्टीका नेताहरुलाई आग्रह गरे । उम्मेदवारीका लागि उम्मेदवारी मात्रै नभएर जित्नु ठुलो कुरा रहेकाले त्यहीअनुसार उम्मेदवार छान्नुपर्ने बताए ।
कार्यक्रममा हिन्दूनारीहरुको पर्व हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान समेत गरिएको थियो ।


