Breaking News.... EverestOnlineKhabar
June 5, 2026

Loading

२०७६ चैत ६, कैलाली । टीकापुर नगरपालिकाको २० वर्षे नगर बृहत् योजना निर्माणको काम अन्तिम चरणमा रहेको छ । बृहत् योजनाको निर्माणको मस्यौदामाथि सरोकारवालासँग छलफल गरी मस्यौदामा भएका विषयबारे जानकारी दिइएको छ । योजना निर्माणको काम ९० प्रतिशत सकिएको नगरपालिकाले जनाएको छ । योजनाको मस्यौदामाथि नगरपालिकाका नौ वटै वडास्तरमा सुझाव सङ्कलनको काम सकेर नगरपालिकास्तरीय सुझाव लिइएको छ । बृहत् योजनाभित्र २० वर्षे भिजन (सोच)सहित दीर्घकालीन लक्ष्य, प्राथमिकताका क्षेत्र समावेश गरिएका छन् ।

योजनामा आर्थिक, सामाजिक, भौतिक पूर्वाधार विकास, वन वातावरण तथा विपद् व्यवस्थापन र संस्थागत विकास तथा सुशासनजस्ता विषयगत क्षेत्र समावेश छन् । ‘राष्ट्रिय योजना आयोगले सबै स्थानीय तहलाई आफ्नो प्रोफाइल (पाश्वचित्र) बनाउ भनेको छ । सुदूरपश्चिममा टीकापुर एउटा मात्र नगरपालिका हो, जसले पाश्वचित्र निर्माण गरिसकेको छ र बृहत् योजना बनाउँदैछ’ नगरप्रमुख तपेन्द्रबहादुर रावलले भने, ‘नगरपालिकाको समग्र वस्तुस्थितिसहितको पाश्वचित्र विसं २०७५ मा निर्माण भइसकेको छ, यो सुदूरपश्चिममै नयाँ प्रयोग हो ।’ उनले २० वर्षपछिको नगरपालिका कस्तो बनाउने भन्ने रोडम्याप तयार भएको बताए ।

‘योजना निर्माणमा विज्ञले मात्र काम गर्ने चलन छ, यहाँचाहिँ नगरभरिका नौ वटै वडाका ६४१ नगरवासीको सहभागितामा योजना बनाइएको हो’, कमिटेड नेपालका कन्सल्टेन्ट परमानन्द पाण्डेले भने, ‘अब नगरवासीका सुझाव समावेश गर्न बाँकी छ, अबको एक महिनामा योजना तयार हुन्छ ।’ छलफल कार्यक्रममा स्थानीय गणेश चौधरीले हरेक थारू गाउँमा मरुवा (देउता राख्ने घर) बनाउनुपर्ने बताए । ‘थारू समुदायमा गाउँभरिले मान्ने देउता राख्ने चलन छ’, चौधरीले भने, ‘थारू बाहुल्यता रहेको गाउँमा मरुवा घर आवश्यक छ ।’ उनले टीकापुरवासीको औषत आयु कति छ र २० वर्ष औषत आयु टीकापुरवासीको कति पु¥याउने भन्ने कुरा पनि योजनामा समेटिनुपर्ने सुझाव दिए । टीकापुर बहुमुखी क्याम्पसका उपप्राध्यापक मीनबहादुर शाहीले सङ्घीय सरकारले राखेका लक्ष्य पनि नगरपालिकाको योजनामा समेटिनुपर्ने बताए ।

प्राडा जगत्बहादुर सिंह रावलले योजना निर्माण हुँदा टीकापुरको योजनाबद्ध विकास गर्न सकिने बताए । ‘योजनाबद्ध विकासका लागि योजना आवश्यक हुन्छ, अब यहाँको विकासले गति लिनेछ’, रावलले भने, ‘तर योजनाको मस्यौदामाथि बृहत् छलफल आवश्यक छ, यसमा सबै विषय समेट्नुपर्छ ।’ बृहत् योजना द एशिया फाउण्डेशनको आर्थिक र कमिटेड नेपालको प्राविधिक सहयोगमा निर्माण भइरहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed