Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

२०७६ फागुन २९, कास्की । ‘नुन लिन भोट’ भन्ने प्राचीन उखान त हो नै यो वास्तविकता पनि हो । आजभन्दा दुई दशक अघिसम्म प्रशोधित आयोनुनको प्रयोग नभएको अवस्थामा नेपालमा विशेषगरी हिमाली भूभाग र चीनबाट नुन आयात हुने गर्दथ्यो । यातायातको पहुँच नभएका कारण नुन लिन हप्तौँ हिँडेर ल्याउनुपर्ने तत्कालीन बाध्यता अहिलेका पुस्तालाई भने एकादेशको कथाजस्तै बनेको छ । ढिकेनुनका रूपमा चिनिने हिमाली भेगमा पाइने नुन साल्ट ट्रेडिङ कर्पोरेशनले आयोनुन बजारमा ल्याएसँगै छायाँमा परेको हो । हिमालपारिको जिल्ला मुस्ताङको छुसाङस्थित तेताङमा रहेको नुनखानी पछिल्ला वर्ष बन्द भएको छ ।

तीनताका नुनखानीकै कारण यहाँका धेरैले रोजगारीसमेत पाएका थिए । खानी बन्द भएसँगै रोजगारी त हटेको छ नै पैसा तिरेर महङ्गोमा नुन खानुपरेको स्थानीयवासीको गुनासो पनि छ । प्राचीन समयमा मुस्ताङको ढिकेनुन देशका अधिकांश भागमा पुग्दथ्यो । बजारमा नुनको माग पूरा गर्न स्थानीयवासीलाई धौधौ थियो । नुन बेचेरै यहाँका स्थानीयवासीको जीविका चलेको थियो । पछिल्लो दशकमा नुनखानीको संरक्षणको साटो आयोडिन नभएको नुन खाए गलगाँड आउँछ भनेर प्रचार गरिएको र केवल गाईभैँसीलाई मात्र खुवाउन थालिएपछि यहाँको मौलिकता नै ओझेलमा पारिएको स्थानीयवासीको दुखेसो छ ।

बीस वर्षअघिसम्म मुस्ताङसहित म्याग्दीको उपल्लो भेगका सर्वसाधारणले त्यसैबाट उत्पादित नुन उपभोग गर्थे भने यो नुन देशका विभिन्न भाग पनि पुग्ने गर्दथ्यो । कास्की, स्याङ्जालगायतका स्थानका बासिन्दाले चामलसँग नुन साटेर लैजान्थे । गण्डकी प्रदेशको मनाङ र मुस्ताङमा साल्ट ट्रेडिङ कर्पोरेशनले बजारमा ल्याएको प्रशोधित भानु नामको नुन यतिखेर प्रचलनमा छ । यो आयोडिनयुक्त नुन हो । यो नुन मुस्ताङमा प्रत्येक वर्ष ७०० देखि एक हजार क्विन्टलसम्म पुग्ने गरेको नेपाल साल्ट ट्रेडिङ कर्पोरेशन पोखराका लेखापाल सागर शेरचनले जानकारी दिए । उनका अनुसार मनाङमा प्रत्येक वर्ष ४०० क्विन्टल नुन जाने गरेको छ । भानुनुन ५० किलोग्रामको प्रतिबोरा ९०० रुपैयाँ पर्दछ । मनाङ र मुस्ताङका लागि सरकारले निःशुल्क ढुवानी अनुदान उपलब्ध गराएको उनले जानकारी दिए । प्रदेशका अन्य जिल्लामा भने आयोनुन वितरण हुने गर्दछ । आयोनुन ५० किलोग्रामको प्रतिबोरा ९२५ रुपैयाँ पर्दछ ।

आयोडिनयुक्त प्रशोधित नुनको वितरणसँगै खुला ढिकेनुनको प्रयोगमा कमी आएको उनले जानकारी दिए । आयोनुनको प्रयोगसँगै आयोडिनको कमीले हुने गलगाँडजन्य स्वास्थ्य समस्यामा धेरै नै कमी आइसकेको पश्चिमाञ्चल क्षेत्रीय अपस्ताल पोखराका निर्देशक अर्जुन आचार्य बताउँछन् । उनका अनुसार पछिल्लो दशकयता गलगाँडको समस्या लगभग हराइसकेको छ । पछिल्ला वर्षमा बढ्दो सचेतनासँगै हिमाली क्षेत्रमा पनि सर्वसाधारणले आयोनुनको प्रयोग गर्न थालेका छन् । दुई दशक अघिसम्म मुस्ताङका स्थानीयवासीले जिल्लाभित्रै रहेको नुनखानीबाट उत्पादित नुनको प्रयोग गर्ने गरेकामा अहिले भने आयोडिनयुक्त भानुनुनको प्रयाग गर्दै आएका छन् ।

आयोनुनको प्रयोगसँगै शरीरका लागि आवश्यक पर्ने आयोडिन प्राप्त हुने थाहा पाएसँगै सर्वसाधारणमा यसतर्फको आकर्षण बढेको हो । स्वास्थ्य सचेतनासँगै हिमाली क्षेत्रमा आयोडिनयुक्त नुनको प्रयोग भइरहेको घरपझोङ गाउँपालिकाका वरिष्ठ अहेब अधिकृत कर्ण थकालीले बताए । मुस्ताङको छुसाङस्थित तेताङमा नुनखानीको पहाडै छ । दुई दशकअघिसम्म स्थानीय र साल्ट ट्रेडिङ कर्पोरेशनले ठेकेदारमार्फत यहाँ नुनको उत्पादन गरे पनि अहिले पूर्णरुपमा बन्द छ । मुस्ताङको नुनखानीबाट निकालिएको नुन चोखो हुने धार्मिक जनविश्वाससमेत रहेको स्थानीवासी लामा कालबहादुर थकालीले बताए । ’कुनै शुभसाइत होस् वा जललाई चोखो बनाउन होस् यो नुनको प्रयोग गर्ने प्रचलन छ’, उनले भने, ’वास्तुशास्त्रीय हिसाबले पनि यसको विशेष महत्व मानिने भएकाले घरको जगसाइतमा मुस्ताङी नुनको प्रयोग गर्ने गरिन्छ ।’

नुनखानी मुस्ताङको अर्को मौलिक पहिचानजस्तै बनेको अवस्थालाई दृष्टिगत गरी यहाँको महत्वलाई उजागर गर्न पछिल्लो समय सरकारले यसको पुनःसञ्चालनको प्रयास अघि बढाएको छ । प्रतिनिधिसभा सदस्य प्रेम तुलाचनले तेताङमा रहेको नुनखानी यहाँको मौलिक विशिष्टता भएका कारण यसको पुनःसञ्चालन गर्न लागिएको जानकारी दिए । ’मुस्ताङमा आउने पर्यटकलाई नुनखानीसम्म र्पुयाउने र यहाँको कोसेलीका रूपमा किनेर लैजान सक्ने व्यवस्था मिलाउन लागेका हौँ’, उनले भने । पछिल्लो केही वर्षयता खानी तथा भूगर्भ विभाग र सम्बद्ध निकायका प्रतिनिधिसहितको प्राविधिक टोलीले नुनखानीको अध्ययन गर्दै उत्पादनका लागि आवश्यक प्रक्रिया बढाउन सरकारले प्रतिवेदनसमेत बुझाइसकेको छ ।

सडकमार्गको पहुँच र नुनखानी रहेको पहाडबाट बग्ने नुनिलो पानीलाई पाइपलाइनमार्फत सहज ठाउँमा ल्याएर उत्पादन गर्न सकिने प्रतिवेदनमा सुझाव दिइएको थियो। नुनखानीको पुनःसञ्चालनका लागि खानी तथा भूगर्भ विभागबाट विस्तृत आयोजना प्रतिवेदन तयार भइसेकको विभागका महानिर्देशक रामप्रसाद घिमिरेले बताए। ’यहाँको मौलिकता र पहिचानलाई कायम राख्न हामीले नुनखानीको पुनःसञ्चालनको प्रक्रिया बढाएका हौँ’, उनले भने, ’उत्पादन कम हुने भए पनि यस नुनखानीलाई पर्यटनलगायतका विषयसँग जोड्ने लक्ष्य रहेको छ।’ खानी पुनःसञ्चालनका लागि केही दिनभित्रै बोलपत्र आह्वान गर्ने तयारी भइसकेको उनले जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed