Breaking News.... EverestOnlineKhabar
June 4, 2026

२० वर्ष कैद सजाय पाएर १७ वर्षदेखि फरारसहित तीन पक्राउ

Loading

२०७६ फागुन २७, सिरहा । कर्तव्य ज्यान मुद्दामा अदालतबाट २० वर्ष कैद सजाय पाएर विगत १७ वर्षदेखि फरार एकसहित तीन जनालाई सिरहा प्रहरीले सोमबार एकै दिन पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट २० वर्ष कैद सजाय पाएर विसं २०५९ देखि फरार सिरहाको साविक खरुकियाही गाविस–५ हाल लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुकियाही निवासी ५५ वर्षीय भोला यादवलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट खटिएको गस्ती टोलीले आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्र्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

यसैगरी कुटपिट मुद्दामा पुनरावेदन अदालत जनकपुर राजविराजबाट एक महिना १५ दिन कैद र रु ७०० जरिवानाको सजाय पाएर विसं २०६१ देखि फरार सिरहाको प्रपि–७ निवासी ४५ वर्षीय रामअशिष यादवलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको गस्ती टोलीले लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रवक्ता प्रहरी नायब उपरीक्षक घिमिरेले बताए ।

त्यस्तै जिल्ला अदालत सिरहाबाट लेनदेन बिगो मुद्दामा तीन महिना कैद जरिवाना सजाय पाएर फरार सिरहाको अर्नामा गाउँपालिका–५ निवासी ५० वर्षीय भुलनीदेवी सदायलाई पक्राउ गरेको छ । अदालतले लेनदेन बिगो मुद्दामा विसं २०७६ मङ्सिर २० गते सदायलाई कैद सजायको फैसला गरेको थियो । अदालतको आदेशपश्चात फरार सदायलाई इलाका प्रहरी कार्यालय अर्नामाबाट खटिएको गस्ती टोलीले पक्राउ गरेको जनाएको छ । पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत सिरहामा पेश गरिएको जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed