![]()
२०७६ फागुन १८, काठमाडौं । चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई लिन गएको चालक दलका १८ जना आज घर जान पाउने भएका छन् । चीनबाट उद्धार गरी ल्याइएका विद्यार्थीहरूलाई भक्तपुरको खरिपाटी र चालक दलका सदस्यहरूलाई नगरकोटमा गरी छुट्टाछुट्टै क्वारेन्टाइनमा राखिएको थियो । चालक दलका सदस्यहरूको दोस्रो चरणको परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि उनीहरूलाई आजै घर पठाउन लागिएको स्वास्थ्य सचिव खगराज बरालले जानकारी दिए ।
उनीहरूलाई क्वारेन्टाइनमा राखिएको आज १५ औँ दिनमा घर पठाइने भएको हो । खरिपाटीस्थित क्वारेन्टाइमा राखिएका विद्याथीहरूको भने दोस्रो चरणको परीक्षणको रिपोर्ट आइनसकेकोले उनीहरू भने आजै घर जान पाउने छैनन् । सबै जनाको रिपोर्ट नेगेटिभ आएमा उनीहरू सोमबारसम्म घर जान पाउनेछन् । सरकारले कोरोना अति प्रभावित चीनको वुहानबाट १७५ जना विद्यार्थीलाई गत फागुन ४ गते उद्धार गरी ल्याएको थियो । उनीहरूलाई चीनबाट नेपाल ल्याइएको भए पनि क्वारेन्टाइनमा रहेकाले परिवारले भेट्न भने पाएका छैनन् ।


