![]()
२०७६ फागुन १५, काठमाडौं । श्री भगवती क्लबले सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा पहिलो जित हात पारेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहिबार भएको खेलमा मध्यपुर युथ एसोसियसनलाई २–० गोल अन्तरले पराजित गर्दै श्री भगवतीले पहिलो जित निकालेको हो । श्री भगवतीको जितमा प्रज्वल थापा मगर र युवराज ढकालले एक एक गोल गरे । खेलको ४४ औं मिनेटमा प्रज्वलले फ्रिकिकबाट गोल गर्दै श्री भगवतीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७२ औं मिनेटमा युवराजले गोल गर्दै श्री भगवतीको जित पक्का गरे ।
जितसँगै श्री भगवतीले २ खेलमा ३ अंक जोडको छ । पहिलो खेलमा श्री भगवती बाँसबारी क्लबसँग पराजित भएको थियो । मध्यपुरको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा मध्यपुर खुमलटार युथ क्लबसँग पराजित भएको थियो । आगामी चैत २३ गतेसम्म चल्ने लिगमा लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम ’ए’ डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम ’सी’ डिभिजनमा घटुवा हुनेछ ।


