Breaking News.... EverestOnlineKhabar
April 21, 2026

राष्ट्रको विकासमा टेवा र्पुयाउन पर्यटकीय क्षेत्रको विकास जरुरी छः राष्ट्रपति भण्डारी

Loading

२०७६ फागुन १५, दार्चुला । सुदूरपश्चिम प्रदेशको दार्चुलास्थित मालिकार्जुन मन्दिरमा पूजापाठका लागि आएका राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको विकासका लागि यस क्षेत्रको पर्यटकीय क्षेत्रको विकास जरुरी रहेको बताएकी छिन् । मालिकार्जुन गाउँपालिकाले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रको सातौँ धाम मालिकार्जुनमा पूजापाठ गर्दै यो क्षेत्र धार्मिक पर्यटन उर्वरभूमि भएको बताइन । जिल्लाको मात्र नभई राष्ट्रकै समृद्धिका लागि यस क्षेत्रको पर्यटकीय क्षेत्रको पहिचान र विकास गर्नुपर्नेमा उनको जोड थियो ।

‘यस क्षेत्रमा रहेका अपि नाम्पा हिमाल, कैलाश मानसरोवर जाने मार्ग भएका कारण पनि यो क्षेत्र पर्यटकीय क्षेत्रको लागि उपयुक्त छ, पर्यटकीय हिसाबले यो क्षेत्रको विकासमा टेवा पु¥याउनुपर्छ’, उनले सम्बोधनमा भनिन्, ‘यहाँ रहेका विकास निर्माणमा टेवा पुग्ने खालका गतिविधिलाई अघि बढाउनुपर्छ, मानसरोवर जाने मार्ग यही छ, यस क्षेत्रसम्म पहुँच पु¥याउन सबैले हातेमालो गरौं ।’ पहिलोपटक दार्चुला भ्रमण गर्न आउनुभएका राष्ट्रपति भण्डारीले भनिन्, ‘यो जिल्ला त्रिदेशीय क्षेत्रमा पर्ने भएकाले पनि पर्यटनको हिसाबले राम्रो छ ।’ यस क्षेत्रको सीमा व्यवस्थापनका लागि सरकारले काम गरिरहेको भन्दै उहाँले छिट्टै निकास आउने बताइन् । विवादित सीमा क्षेत्रको प्रभावकारी व्यवस्थापनका लागि अझै पनि नागरिक सङ्गठित हुनुपर्ने उनको भनाइ थियो ।

‘यहाँका हिमाल, वनजङ्गल जोगाउन सक्यौँ भने पर्यापर्यटनमा टेवा पुग्छ’, उनले भनिन्, ‘हाम्रो चुनौती भनेकै जलवायु परिवर्तन हो ।’ यसका लागि यहाँका पर्यावरण संरक्षणमा ध्यान दिनुपर्ने उनको भनाइ छ । ‘जलवायुलाई संरक्षणका लागि हिमाल बचाउनु जरुरी छ, दार्चुलामा विसं २०६७ मै घोषणा भएको अपि नाम्पा संरक्षण क्षेत्रलाई थप व्यवस्थापन गर्नु अहिलेको आवश्यकता हो’, राष्ट्रपति भण्डारीले भनिन्, ‘यहाँका प्राकृतिक सम्पादा संरक्षणका लागि अपि नाम्पा संरक्षण क्षेत्रलाई अझै प्रभावकारी बनाइनुपर्छ ।’ उनले यो क्षेत्रको विकासका लागि आफ्नो पदीय हिसाबले गर्नुपर्ने कामका लागि सहयोग गर्ने आश्वासन दिइन् । हेलिकोप्टरमार्फत दार्चुलाको मालिकार्जुन अवतरण हुनुभएका राष्ट्रपति भण्डारीले मालिकार्जुन मन्दिरमा गएर पूजापाठ गरिन् । झण्डै १५ मिनेट मन्दिरमा पूजापाठ गरेपछि उहाँ नागरिक अभिनन्दनमा सरिक भइन् ।

मालिकार्जुन मन्दिर जिल्लाकै एक प्रसिद्ध धार्मिक तीर्थस्थल हो । भगवान् शिवका १२ ज्योतिलिङ्गमध्ये दोस्रो ज्योर्तिलिङ्ग मालिकार्जुनलाई मानिन्छ । यो क्षेत्रमा दार्चुलाका साथै सुदूरपश्चिम र भारत उत्तराखण्डका नागरिकले आराध्यदेवका रुपमा मालिकार्जुनको पूजापाठ गर्ने गर्छन् । विशेष शक्तिपीठको रुपमा रहेका कारण पनि मालिकार्जुनलाई सरकारले धार्मिक पर्यटकीय गन्तव्यको एक सय सूचीमा राखेको छ । सोहीअनुरुप अहिले सरकारले हरेक वर्ष मालिकार्जुनको धार्मिक पर्यटन विकासका लागि बजेटसमेत विनियोजन गर्ने गरेको छ । नेपाल भ्रमण वर्ष २०२० का अवसरमा राष्ट्रपति भण्डारी दार्चुलाको धार्मिक तीर्थस्थल मालिकार्जुनमा गरेको भ्रमणले स्थानीयस्तरमा खुशीयाली छायो ।

हजारौं सर्वसाधारणले भण्डारीलाई लामबद्ध भएर स्वागत गरेका थिए । राष्ट्रपति भण्डारीलाई मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामी र दार्चुलाबाट प्रतिनिधिसभाका सदस्य गणेशसिंह ठगुन्नाले स्वागत गर्दै नागरिक अभिनन्दनस्थलसम्म पु¥याइन् । नागरिक अभिनन्दनस्थलमा मालिकार्जुन गाउँपालिका उपाध्यक्ष पुष्पा अवस्थीले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रतिनिधिसभा सदस्य ठगुन्नाले मन्तव्य राखेका थिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष धामीले गाउँपालिकाका तर्फबाट राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन हस्तान्तरण गरे । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed