![]()
२०७६ फागुन १३, काठमाडौं । महानगरीय प्रहरी वृत्त महाराजगन्जको प्रहरी टोलीले बुढानिलकण्ठबाट सामूहिक बलात्कार गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । सामूहिक बलात्कार गरेको अभियोगमा महाराजगन्ज वृत्तको टोलीले दुईलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रमुख डिएसपी उमेश लम्सालका अनुसार सुनसरी इटहरीकी ३४ वर्षीया एक युवतीलाई जागिरको प्रलोभन देखाई उनीहरूले काठमाडौं बोलाएका थिए ।
जागिर पाउने आशमा ती युवती काठमाडौं आइन् । तर उनीमाथि सामूहिक बलात्कार भयो । बुढालिनकण्ठ नगरपालिका ६ गणेश चोकस्थित सुबास सङ्ग्रौलाको घरमा र भक्तपुरको एक रिसोर्टमा लगेर उनको सामूहिक बलात्कार भएको लम्सालले बताए । बलात्कारमा संलग्न रहेको अभियोगमा झापा गौरिगंज गाउँपालिका १ स्थायी घरभई बुढानिलकण्ठ बस्ने ३४ वर्षीय विशाल सङ्ग्रौला र सोही ठाउँका ३५ वर्षीय सुबास सङग्रौलालाई पक्राउ गरिएको डिएसपी लम्सालले जानकारी दिए । महाराजगन्जको प्रहरी टोलीले बुढानिलकण्ठबाट उनीहरुलाई नियन्त्रणमा लिई जवरजस्ती करणीअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


