Breaking News.... EverestOnlineKhabar
June 4, 2026

राष्ट्रियसभा बैठक ः कोरोना प्रभावित क्षेत्रबाट नेपालीलाई उद्धार गर्न ध्यानाकर्षण

Loading

२०७६ माघ २२, काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले चीनको वुहान प्रान्तबाट फैलिएको नोभेल कोरोना भाइरस विश्वव्यापी प्रभाव पारिरहेको भन्दै प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकलाई तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद कोमल ओलीले विश्वभर फैलिरहेको कोरोना भाइरस सङ्क्रमणको नेपालमा कस्तो अवस्था छ ? भनेर प्रश्न गरिन् । चीनको प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकलाई उद्धार गरेर फिर्ता ल्याउने सरकारको तयारीप्रति असन्तुष्टि जनाउँदै उनले भनिन्, ‘चीनबाट नेपाली ल्याइँदै छ भने सरकारले उनीहरुलाई कहाँ र कसरी राख्ने व्यवस्था गरेको छ ?’

नेकपाकै कमलाकुमारी ओलीले कोरोना भाइसरको सङ्क्रमण बढिरहेको अवस्थामा वुहानमा रहेको नेपाली विद्यार्थी ठूलो तनावमा रहेको भन्दै तत्काल उच्चस्तरीय पहल गरी उद्धार गर्न सरकारको ध्यानाकर्षण गराइन् । ‘कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपाली विद्यार्थी निकै आत्तिएको अवस्था छ’, उनले भनिन्, ‘उनीहरु अलपत्र परेका छन्, तत्काल प्रभावित क्षेत्रमा फसेका नेपालीको तथ्याङ्क निकालेर उद्धार गरोस् ।’ यता सरकारले भने प्रभावित क्षेत्रमा रहेका नेपालीलाई उद्धार गरेर नेपाल ल्याउने तयारी गरिरहेको छ । सरकारले स्वास्थ्य मन्त्रालय मातहत रहने गरी ३०० श्ययासम्मको अस्पताल बनाउने र भविष्यका लागि यस्ता जोखिमबाट बच्नका लागि छुट्टै अस्पताल बनाउने तयारीमा जुटेको छ ।

मङ्गलबारको प्रतिनिधिसभा बैठकमा पनि सांसदहरुले कोरोना भाइरसले नेपालमा पनि सङ्क्रमणको रूप लिन सक्ने भएकाले सम्पूर्ण तयारी गरी सचेत हुन सरकारको ध्यानाकर्षण गराएका थिए । नेपालमा कोरोना भाइरसको सङ्क्रमण अहिलेसम्म नदेखिएको र सरकारले उच्च सतर्कताका साथ काम गरिरहेको छ । नेपाल कोरोना भाइरसलाई प्रवेश गर्नै नदिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा दुईपटक बैठक बसेको र स्वास्थ्यमन्त्री ढकालको संयोजकत्वमा उच्चस्तरीय कार्यदल बनेको छ । चीनको वुहान प्रान्तबाट सन् २०१९ डिसेम्बर ३१ मा पहिलोपटक फैलिएको कोरोना भाइरस अहिले चीनको २२ प्रान्तमा तथा विश्वका २३ मुलुकमा फैलिएको छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार विश्वमा अहिले १७ हजार ३५१ मा सो भाइरस देखिएको छ । त्यसमध्ये १७ हजार चीनकै नागरिकमा सो भाइरस देखिएको छ ।

नेकपाकै उदया शर्मा पौडेलले सार्वजनिक सवारीसाधनमा ज्येष्ठ नागरिकलाई भाडादरमा छुट दिने व्यवस्था कार्यान्वयनमा आउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । राजधानीभित्रै चल्ने सवारीसाधनमा ज्येष्ठ नागरिकले सुविधा पाउन नसकेको यथार्थ सुनाउँदै उहाँले कतिपय सार्वजनिक सवारीसाधानमा आरक्षण सिटसमेत हटाइएको पाइएको बताइन् । ‘ज्येष्ठ नागरिक देशका गहना, सम्मानित व्यक्तित्व र जीवित इतिहास हुन्’, उनले भनिन्, ‘ज्येष्ठ नागरिकले सार्वजनिक यातायातमा सुविधा प्राप्त गर्न सकेका छैनन्, राजधानीमै सुविधा नपाएका ज्येष्ठ नागरिकले मुलुकको अन्य भूभागमा के सहुलियत पाएका छन् त ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed