Breaking News.... EverestOnlineKhabar
September 8, 2026

Loading

२०७६ माघ २०, जाजरकोट । सदरमुकाम गएर सेवा लिँदै आएका जिल्लाका पश्चिमी क्षेत्रका स्थानीय बासिन्दा अहिले गाउँघरमै सेवा पाउँदा दङ्ग छन् ।सदरमुकामसँग प्रत्यक्ष पहुँच नभएका पश्चिमी क्षेत्रका स्थानीयवासी स्थानीय सरकारको सेवा गाउँमै पाएपछि निकै खुशी भएका हुन् । छेडागाड नगरपालिकाले प्रवाह गर्ने सेवामध्ये सबैभन्दा बढी पशुपन्छी शाखा र स्वास्थ्य शाखाबाट सेवा लिनेको भीड लाग्ने गरेको पशुपन्छी शाखाका प्रमुख अमृत गिरीले जानकारी दिए । उनका अनुसार दैनिक ४० भन्दा बढी स्थानीयवासी सेवा लिन आउने गरेका छन् । स्थानीय सरकार स्थापना नहुँदै केन्द्रीकृत संरचना हुँदा सेवा नपाएर हैरान भएका स्थानीयवासीमा स्थानीय सरकार आएसँगै खुशी छाएको हो । अहिले गाउँमा पशुचौपाया बिरामी हुने बित्तिकै नगरपालिकामा आएर औषधि तथा सल्लाह लिनेक्रम बढेको गिरीले जानकारी दिए ।

त्यस्तै स्वास्थ्य संस्थामा उपचार लिन आउनेको भीड लाग्ने गरेको छ । गाउँमै सबै प्रकारका औषधि पाइने भएपछि स्थानीयवासीको विश्वास बढेको छ । औषधि कमी हुन नदिन स्थानीय सरकारले साप्ताहिक रुपमा जानकारी लिने गरेको छेडागाड नगरपालिकाका नगरप्रमुख लालबहादुर महतराले जानकारी दिए । औषधि नपाएर अकाल्मै मृत्यु हुनबाट रोक्नका लागि स्थानीय सरकार गम्भीर भएको महतराले बताए । उनले भने, ‘हामी दैनिक जनताको माझमा छौँ, अभावकै कारण कोही पनि छट्पटाउनुपर्ने अवस्थाको अन्त्य गर्नका लागि स्थानीय सरकारको गठन भएको छ । हाम्रा सेवा अपुग भए सिधै नगरमा आएर जानकारी गराउन पनि अनुरोध गर्दछु ।’ ज्येष्ठ नागरिकलाई घरमै गएर उपचार गर्ने कार्य शुरु गरिएको छ । कुपोषण, शारीरिक रुपमा अशक्त भएका, बहुविवाह र बालविवाह अन्त्यका लागि नगरपालिकाले पहिलो अभियान सञ्चालन गरेको पाइएको छ ।

बालविवाह अन्त्यका लागि किशोरी सम्मेलन गरी जागरणको कार्यक्रम सञ्चालन गर्नुका साथै नगरपालिकाले अहिले विद्यालयमा समेत बालविवाह अन्त्यका लागि विशेष अभियान सञ्चालन गरेको छ । कुपोषण न्यूनीकरणका लागि गर्भवतीको नियमित स्वास्थ्य जाँच, करेसाबारी कार्यक्रम, घरेलु उत्पादन वृद्धी र सही प्रयोग गर्नका लागि प्रत्साहन गरिएको छ । त्यस्तै सबै नागरिकलाई उद्यमशील बनाउनका लागि उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको आर्थिक सहयोग र भेरी कर्णाली पोलिटेक्निक इन्स्टिच्यूट प्रालि बाँकेले विशेष कार्यक्रम लागू गरी छेडागाड नगरपालिकामा व्यवसायिक सीपको विकास गर्न सक्रिय भएको छ । आफ्नो मालिक आफैँ भन्ने नाराका साथ यो कार्यक्रम सुचारु भएको हो ।

आफ्नै कार्यालयबाट सेवा प्रवाह

यहाँको शिक्षा, पशुपन्छी, स्वास्थ्य शाखाहरु आफ्नै भवनमा सञ्चालन भई सेवा प्रवाह भएको पाइएको छ । आउँदो आर्थिक वर्षदेखि सबै वडा कार्यालय निर्माण कार्य शुरु गरिने नगरप्रमुख लालबहादुर महतराले जानकारी दिए । सबै वडा कार्यालय निर्माण कार्यसँगै सेवा प्रवाह सहज हुने विश्वास लिइएको छ । खानेपानी, भौतिक पूर्वधार, सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेको नगरपालिकाले सेवा प्रवाह चुस्त राखेको छ । कच्ची सडक निर्माण कार्य तीव्र रुपमा अगाडि बढाएको नगरले आफ्नो स्रोत साधनले पुगेसम्म काम छिटो भइरहेको प्रमुख प्रशासकीय अधिकृत झलक केसीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.