![]()
२०७६ माघ ०९, मोरङ – मोरङको धनपालथान गाँउपालिकास्थित रामचौकमा विद्यार्थी बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बिहीबार बिहान रंगेलीबाट विद्यार्थी लिएर आउँदै गरेको लर्ड बुद्ध कलेजको मे १ ख १४९० नम्बरको बस सडकबाट करिब ६ फिट तल पल्टिदाँ बस मालिक ३२ वर्षे सानुकुमार साहको मृत्यु भएको हो । सोही विद्यालयबाट अध्ययन सकेका सानु बिहान सह चालक नआउँदा बसमा विद्यार्थी लिन हिँडेका थिए ।
विराटनगर महानगरपालिका १५ का ३२ वर्षीय साहलाई बस पल्टिँदा किचेको र घाइते अवस्थामा विराटनगरको एक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए । बिहानीपख बाक्लो हुस्सुका कारण रामचौकमा विपरीत दिशाबाट आएको गाडीलाई साइड दिनेक्रममा गाडी पल्टिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
घटनालगत्तै नियन्त्रणमा आएका बसका चालक ३४ वर्षीय खिलबहादुर खड्काले साईड दिनेक्रममा बस दुर्घटनामा परेको बताएका छन् । दुर्घटनामा धनपालथान–७ की २० वर्षीया रञ्जिता मण्डल, धनपालथान–४ की २० वर्षीया सुष्मा राजवंशी, निकिताकुमारी राय, दीक्षा श्रेष्ठ र रंगेली नगरपालिका–४ की १९ वर्षीया लुना गौतम घाइते भएका छन् । रञ्जिताको टाउकोमा चोट लागेको छ । सबै घाइतेको उपचार भइरहेको छ । बसमा १२ जना विद्यार्थी सवार थिए ।


