![]()
२०७६ पुस २२, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले आफ्नो अस्ट्रेलिया भ्रमणका सन्दर्भमा गलत समाचार सम्प्रेषण भएको दावी गरेका छन् । सिड्नीका सुरक्षाकर्मीले नेपाल भ्रमण वर्ष २०२० को र्याली गर्न रोक लगाएको समाचार सार्वजनिक भएपछि भट्टराईले त्यसमा कुनै सत्यता नरहेको दावी गरेका हुन् ।
‘मौन जुलुस मार्फत पर्यटन वर्षको प्रवर्द्न गरिएको थियो । भएको यही हो । काल्पनिक र गलत समाचार सम्प्रेषण गरेर मुलुकको प्रतिष्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजिएको हो ? नियत गम्भीर छ,’ उनले सामाजिक सञ्जालमा उल्ल्ेख गरेका छन् । भट्टराईले अस्ट्रेलियाको सिड्नीमा नेपाली राजदूतावासको आयोजना तथा एनआरएनए लगायतका संघ–संथाको सहयोगमा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ कार्यक्रम भब्य रुपमा सम्पन्न भएको पनि बताएका छन् ।
उनले कार्यक्रममा न्यू साउथ वेल्स स्टेटका सभामुखसहित अस्ट्रेलियाका पक्ष र प्रतिपक्षी दल र नगरपालिकाका प्रतिनिधि लगायतको उपस्थिति रहेको भन्दै सो क्रममा उनीहरुका तर्फबाट शुभकामना मन्तब्य पनि व्यक्त भएको बताएका छन् । यस्तै मौन जुलुस मार्फत पर्यटन बर्षको प्रवर्द्न गरिएको उनको भनाइ छ । तर साउथ एसिया डट कम डट एयूका अनुसार आयोजकले र्याली आयोजनाका लागि सम्बन्धित पक्षसँग कुनै अनुमति नलिएका कारण प्रहरीले रोक लगाएको थियो ।



