![]()
२०७६ पुस १३, बिबिसी । जिहादी समूह इस्लामिक स्टेट (आईएस) ले नाइजिरियामा ११ जना इसाई धर्मावलम्बीको हत्या गरेको देखिने एउटा भिडिओ सार्वजनिक गरेको छ । आईएसले त्यसलाई अक्टोबरमा सिरियामा भएको आफ्ना नेता र प्रवक्ता मारिएको घटनाको बदला अभियानको एउटा अङ्ग भएको बताएको छ । भिडिओमा देखाइएका पीडितहरूबारे विस्तृत जानकारी दिइएको छैन । आईएसको ’समाचारसंस्था’ अमाकले उत्पादन गरेको ५६ सेकेन्ड लामो भिडिओमा देखाइएका ती सबै पुरुष छन् ।
आईएसले उनीहरू नाइजिरियाको उत्तरपूर्वी राज्य बोर्नोबाट केही हप्ताअघि नियन्त्रणमा लिइएको बिबिसीले जनाएको छ। भिडिओ डिसेम्बर २६ तारिखमा सार्वजनिक भएको हो । विश्लेषकहरूले स्पष्ट रूपमा क्रिस्मस उत्सवसँग भिडिओ सार्वजनिक गर्ने समय मिलाइएको देखिएको बताएका छन् । उक्त भिडिओ ठेगाना नखुलाइएको खुला इलाकामा छायाङ्कन गरिएको छ । एक बन्धकलाई गोली हानिएको छ भने अन्य १० जनालाई भुइँमा सुताएर उनीहरूको टाउको काटिएको छ ।
आईएसका पूर्वनेता अबु बकर अल बग्दादी र प्रवक्ता अबुल हसन अल मुहाजिर अक्टोबर महिनाको अन्त्यतिर सिरियामा मारिएका थिए ।करिब दुई महिनापछि डिसेम्बर २२ तारिखमा आईएसले उनीहरूको मृत्युको ’प्रतिशोध’ नयाँ सैन्य अभियान घोषणा गरेको थियो । त्यसयता उसले अभियानको ब्यानरमुनि विभिन्न देशमा आक्रमण तीव्र बनाएको दाबी गरेको छ । नाइजिरियाको इस्लामिक समूहको एउटा खेमा बोको हरामले अहिले इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स (आईएसडब्ल्यूएपी) को ब्यानरमा लडाइँ गरिरहेको छ ।गत वर्ष आईएसडब्ल्यूएपीले स्वास्थ्यकर्मीको हत्या गरेका थिए ।


