![]()
सन् २०२० मा अस्ट्रेलियामा हुने आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका लागि १० टिम सिधै छनोट भएका छन्।
सन् २०१८ को डिसेम्बरसम्म आइसिसीको टी–२० वरीयताको शीर्ष १० टिम विश्वकपका लागि छनोट भएका हुन्। जसमा शीर्ष स्थानको पाकिस्तानसहित भारत, इंग्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, वेस्ट इन्डिज र अफगातिस्तान विश्वकपका छनोट भएका हुन्। शीर्ष ८ टिम सुपर–१२ का लागि सिधैं छनोट भएका छन्।
यस्तै नवौं वरीयताको पूर्व च्याम्पियन श्रीलंका र दशौं वरीयताको बंगलादेश पनि टी–२० विश्वकपका लागि छनोट भएका छन्। यद्यपी श्रीलंका र बंगलादेशले समूह चरण खेल्नु पर्ने भएको छ।
यता टेस्ट टिम जिम्बावे र आयरल्यान्ड सिधै विश्वकपमा छानिन असफल भएको छ। जिम्बाव र आयरल्यान्ड छनोट प्रतियोगिता खेल्नु पर्ने भएको छ।
१४ टिमबीच हुने छनोट प्रतियोगिता अक्टोबर २०१९ मा हुनेछ। छनोट प्रतियोगितामा जिम्बावे र आयरल्यान्डहित अघिल्लो विश्वकप खेलेका स्कटल्यान्ड, नेदरल्यान्ड्स, हङकङ र ओमानले प्रतिस्पर्धा गर्ने पक्का भइसकेको छ। छनोट प्रतियोगिता खेल्ने बाँकी ८ टिमका लागि अहिले विभिन्न महादेशमा क्षेत्रीय छनोट भइरहेको छ।
१४ टिमबीच हुने छनोट प्रतियोगिताबाट ६ टिम टी-२० विश्वकपमा पुग्नेछन्। छनोट भएर पुग्ने ६ टिम तथा बंगलादेश र श्रीलंकाबीच टी–२० विश्वकपको समूह चरणमा प्रतिस्पर्धा हुनेछ। समूह चरणबाट ४ टिम सुपर–१२ मा पुग्नेछन्।
टी–२० विश्वकप खेल्ने नेपालको सम्भावना छ?
नेपालले टी–२० विश्वकपका लागि एसियाको पहिलो चरणको छनोट पार गरिसकेको छ। तीन महिनाअघि मलेसियामा भएको छनोट प्रतियोगिता जित्दै नेपाल एसिया छनोटको दोस्रो चरणमा पुगेको थियो।
दोस्रो चरणको छनोट आगामी मार्चमा हुने बताइएको छ। दोस्रो चरणको क्षेत्रीय छनोटमा नेपाल, यूएई, कतार, कुबेत, सिंगापुर र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ। जहाँ शीर्ष २ भित्र पर्न सके नेपालले अक्टोबर २०१९ मा हुने टी–२० विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ।
टी–२० विश्वकप छनोटमा जिम्बावेसहित अघिल्लो विश्वकप खेलेका ६ टिमले खेल्ने पक्का भइसकेको छ। क्षेत्रीय छनोट पार गर्ने बाँकी ८ टिम गरी १४ बीच छनोट हुनेछ। छनोटमा शीर्ष ६ स्थानमा परे नेपालले टी–२० विश्वकप खेल्न पाउनेछ।
त्यसैले नेपालले विश्वकप खेल्न आगामी मार्चमा हुने प्रतियोगितामा शीर्ष २ र अक्टोबरमा हुने प्रतियोगितामा शीर्ष ६ स्थान हात पार्नु पर्नेछ।


