![]()
काठमाडौं । प्रतिनिधिसभाका सभामुखकोे निर्वाचन फागुन २६ गते हुँदैछ । एमालेसँगको सहकार्यमा माओवादीले प्रतिनिधिसभाको सभामुख पाउने भएको छ। संसदमा बहुमत रहेका वाम गठबन्धनकै सभामुख बन्ने निश्चित छ। तर, सभामुख को हुने भन्ने बिषयले माओवादी भित्र मारामारको स्थिति देखिएको छ ।
माओवादी केन्द्रले हालसम्म सभामुखको टुंगो लगाउन सकेको छैन। सभामुखमा आकांक्षी धेरै भएका कारण माओवादीले अहिलेसम्म सभमुखको उम्मेदवारको टुंगो लगाउन नसकेको हो । सभामुखमा पार्टीका नेता कृष्णबहादुर महरा, देव गुरुङ र ओनसरी घर्तीले आकांक्षा राखेका छन्।
माओवादीबाट सरकारको नेतृत्व गरेर यसअघिको देउवा नेतृत्वको सरकारमा गएका महराले सभामुखका लागि आकांक्षा देखाएका कारण सरकारमा जाने इच्छा नदेखाएका हुन । यस्तै, गुरुङले पनि मन्त्री नबनाउने भएपछि सभामुख बनाउनुपर्ने माग राखेका छन । यस्तै, ओनसरी घर्तीले पनि एकपटक दोहोरिने आकांक्षा राखेको बताइएको छ । वर्षमान पुनले आफूले मन्त्री बन्नका लागि आकांक्षा राखेका कारण ओनसरीलाई दोहरिन समस्या छ । यदि राष्ट्रपतिमा बिद्या भण्डारी दोहरिए सभामुखमा घर्तीलाई पनि दोहर्याउनुपर्ने मत बलियो हुने छ ।
सभामुखका लागि आकांक्षी धेरै भएपछि अध्यक्ष पुष्पकमल दाहाललाई व्यवस्थापन गर्न समस्या भएको छ । उनले सबैलाई छलफल गरौंला भन्ने जवाफ दिएर फर्काउने गरेका छन । महरा पटक–पटक मौका पाइसकेको व्यक्ति भएकाले उनलाई बनाउन नहुने एकथरीको तर्क छ भने कतिपयले उनी पार्टीका सिनियर नेता भएकाले सभामुखमा उपयुक्त हुने तर्क गर्ने गरेका छन । गुरुङ पार्टी फुटाएर पुनः फर्केकाले उनका बारेमा समेत बिरोध बढेको छ ।
माओवादीले जसलाई सभामुखको उम्मेदवार बनाएपनि आकांक्षी धेरै देखिएकाले पार्टीमा त्यसले स्वतः असन्तोष पैदा गर्ने छ ।


