![]()
बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युरोपेली निर्यातकर्ताहरूलाई स्टील एवं अलुमिनियमका साथै कारहरूमा थप कर लगाउने चेतावनी दिएका छन्।
स्टीलमा राजश्व बढाइए प्रतिकार गर्ने वाचा युरोपेली संघले गरेपछि ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो। उनले अमेरिकी व्यापार घाटा कम गर्ने कदम चाल्न आफू दृढ रहेको बताएका छन्। तर उनका कतिपय सल्लाहकारले सवाधानीपूर्वक कदम चाल्न भनिरहेको बुझिन्छ।
अमेरिकाले स्टील र अलुमिनियममा चर्को भन्सार शुल्क लगाउने निर्णय गरेपछि उसका प्रमुख व्यापारिक साझेदारहरूका साथै अन्तराष्ट्रिय मुद्रा कोष र विश्व व्यापार संगठनले त्यसको आलोचना गरिरहेका छन्।
युरोपेली संघका व्यापार हेर्ने निकायका प्रमुखले अमेरिकाबाट हुने आयातमा २५ प्रतिशत कर लगाउनेबारे विचार गरिरहेको विवरण आएका हुन्।
अमेरिकाबाट आयात हुने लिभाइस जिन्स, हार्ली डेभिड्सन मोटरसाइकल र बर्बन ह्विस्की उक्त करको निशानामा पर्ने युरोपेली आयोगका अध्यक्ष जाँ क्लड योंकरले बताएका छन्।
सामाजिक सञ्जाल ट्विटरमा ट्रम्पले इयुले अमेरिकी उत्पादनहरुमा थप शुल्क लगाए विना कर अमेरिका प्रवेश गरिरहेका युरोपमा निर्मित कारहरूमा शुल्क लगाउने चेतावनी दिएका थिए । उनले एकदमै मूर्खतापूर्ण व्यापारिक कारोबारका कारण अरू देशहरूले वर्षौंदेखि अमेरिकाबाट फाइदा लिइरहेको पनि बताएका छन्।


