![]()
काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा आफू सर्वसम्म हुन वरिष्ठ नेता रामचन्द्र पौडेलसमक्ष राखेको आकर्षक प्रस्ताव पौडेल समूहले अस्वीकार गरेको छ ।
देउवा पक्षधर नेता गोपालमान श्रेष्ठ र रमेश लेखकले सभापति देउवालाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरे दलको उपनेता, प्रमुख सचेतक, सचेतक लगायतका पदमा सहमति गर्न सकिने प्रस्ताव पौडेलसमक्ष राखेका थिए । पौडेलको समूहले ठाडै प्रस्ताव अस्वीकार गरेपछि चुनाव हुने निश्चित भएको हो ।
‘‘सभापति सहमतिमै दलको नेता चयनका लागि प्रयासरत हुनुहुन्छ । तर, वरिष्ठ नेताबाट हामीले राखेको प्रस्तावमा पोजेटिभ कुरो आएन,’’ संस्थापन पक्षीय नेता रमेश लेखकले भने, ‘‘पौडेल दलको नेतामा चुनाव नै गराउने पक्षमा देखिनुभयो ।’’
वरिष्ठ नेता पौडेलले सहमतिमा संसदीय दलको नेता चयनका लागि संस्थापन पक्षको प्रस्ताव नमानेका कारण सभापति देउवा र पौडेल पक्षीय केन्द्रीय सदस्य प्रकाशमान सिंहबीच प्रतिष्पर्धा हुने निश्चितप्रायः जस्तै देखिएको छ । सभापति देउवाकै कारण पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अकल्पनीय परिणाम व्यहोर्नुपरेको दाबी गर्दै पौडेल पक्षीय नेताहरु नेतृत्वसमेत परिवर्तन गर्नुपर्ने बताउँदै आएका छन् ।
कांग्रेसको नेतृत्वमा संविधान कार्यान्वयन भएको तर्क गर्दै नेता लेखकले सभापतिको हैसियतमा देउवाले संसदीय दलको नेताका लागि इच्छा देखाउनु स्वाभाविक भएको जिकिर गरे । ‘‘उहाँकै नेतृत्वमा संविधान कार्यान्वयन भएको छ । फेरि पार्टी सभापतिको पक्षमा दुई तिहाई बहुमत पनि छ,’’ नेता लेखकले भने, ‘‘सभापतिले दलको नेताका लागि दावी गर्नु स्वाभाविक हो ।’’
‘‘हामीले मिलाएर लैजाँदा पछिल्लो समय पार्टीमा देखिएको तिक्तता मेटिने र समझदारी बढ्ने कुरा राख्यौं,’’ लेखकले भने, ‘‘संविधान कार्यान्वयन गरेको पिएमलाई तपाईं दलको नेता हुन पाउनु हुन्न भनियो भने सभापतिले पनि किन मान्नुहोला र सम्म भन्यौं तर उहाँ (पौडेल) ले मान्नु भएन ।’’
दलको नेता चयन गर्न सोमबार बिहान १० बजेदेखि चुनाव हुने कार्यतालिका छ ।


