![]()
एजेन्सी,१७ जेठ ।
तीब्र आलोचनाको बीच पनि आर्सनलले आर्सने वेङ्गरको सम्झौता थप दुई वर्षका लागि लम्ब्याँएको छ। २१ वर्षदेखि आर्सनलको प्रशिक्षक रहेका वेङ्गरलाई हटाउन चौतर्फी दबाब थियो। उनको दुई दशक लामो कार्यकालमा यसपालि आर्सनल प्रिमियर लिगको पाँचौ स्थानमा झरेको थियो र क्लब च्याम्पियन्स लिगका लागि छनोट हुन असफल भएको थियो।
तर, खराब सिजनका बाबजुद आर्सनलले गत साता एफए कपको उपाधि जितेको थियो, त्यो पनि लिग विजेता चेल्सीलाई पराजित गर्ने क्रममा। वेङ्गर र क्लब मालिक सन क्रोयन्केबीच सोमबार गोप्यवार्ता भएको थियो। उनको सम्झौता बढाउने विषयमा मंगलबार ढिलो गरि सुरु भएको बोर्ड मिटिङमा अनुमोदन भएको थियो। फ्रेन्च प्रशिक्षकले बुधबार पत्रकार सम्मेलन गर्ने जनाइएको छ।


