![]()
काठमाडौ,२३ चैत । चीन भ्रमणबाट फर्केपछि सुस्ताएका प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी दलहरूसँगको वार्ताका लागि कुनै तयारी गर्न सकेका छैनन् । चीनबाट फर्केपछि दलहरूबीच सहमति हुने बताएका प्रधानमन्त्री दाहालले अहिले वार्ताका लागि कुनै पहलसम्म गरेका छैनन्।
गत आइतबारको बैठकमा मधेसी मोर्चाले दुईवटा नयाँ माग थपेपछि वार्ता सकारात्मक रूपमा अघि बढ्ने सम्भावना नदेखिएको हो । स्रोतका अनुसार मधेसी मोर्चाले मधेसमा छुटेको मतदाता नामावली पुनः संकलन गर्नुपर्ने र स्थानीय तहको संख्या बढाउनुपर्ने माग वार्तामा अघि सारेको थियो ।
तर स्थानीय तहको संख्या थप गरेर राजपत्रमा प्रकाशित गरिसकेको र सोहीअनुसार निर्वाचन आयोगले चुनावको तयारी थालेकाले त्यसलाई हेरफेर गर्न नसकिने निष्कर्षमा सरकार पुगेको हो । निर्वाचन आयोगले पनि स्थानीय तहको संख्या फेरि हेरफेर गरेर वैशाख ३१ मा चुनाव हुन नसक्ने सुझाव प्रधानमन्त्री दाहाललाई दिएको छ ।
मोर्चाको माग सम्बोधन गर्न नसकिने भएपछि सहमतिमा वैशाख ३१ मा स्थानीय तहको चुनाव हुने सम्भावना घट्दै गएको छ । सरकारले वार्तालाई महत्व दिन छाडेपछि मोर्चामा सहभागी दलहरू भने समस्या समाधान भएर चुनाव हुने सम्भावना नरहेको निष्कर्षमा पुगेका छन् ।


