![]()
काठमाडौ,२ भदौ ।
निर्वाचन आयोगले असोज २ गते प्रदेश नम्बर २ मा स्थानीय तह निर्वाचन सम्पन्न गराउन मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत तोकेको छ। तर, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले थप स्थानीय तहमा कार्यालय स्थापना गरी कर्मचारी खटाउन सकेको छैन।
मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले बिहीबार मातहतका निकायलाई तत्काल कार्यालय स्थापना गर्न परिपत्र गरेको जानकारी दिए । उनले भनेः‘थपिएका नौ स्थानीय तहमा कार्यालय स्थापना नभए पनि हामी कर्मचारी व्यवस्थापन गर्न लागिरहेका छौ । आयोगको आग्रहअनुरूप भदौ ७ गतेभित्रै कर्मचारी र कार्यालय स्थापना भइसक्नेछ ।
देशभर स्थानीय तहमा कर्मचारी खटाउन समस्या भइरहे पनि प्रदेश नम्बर २ को निर्वाचन सम्पन्न गराउनका लागि कुनै समस्या नभएको मन्त्रालयको दाबी छ। उक्त प्रदेशका आठ जिल्लाका आठ जना न्यायाधीशलाई न्याय परिषद्को सिफारिसमा मुख्य निर्वाचन अधिकृतका रूपमा बिहीबार नियुक्त गरिएको आयोगले जनाएको छ।
शिक्षा र प्रशासनतर्फ द्वितीय श्रेणीका १३६ जना अधिकृतलाई निर्वाचन अधिकृत रूपमा नियुक्त गरिएको छ।आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार मुख्य निर्वाचन अधिकृतले भदौ ७ गते र निर्वाचन अधिकृतले भदौ १२ आफू खटिएको स्थानीय तहमा कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने छन्।


